चितवन (अस) । चितवनमा यसै साता देखिएको बर्डफ्लूका कारण ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको अनुमान गरिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–९, सुर्तनीमा बर्डफ्लूले कुखुरा मर्न थालेपछि त्यस क्षेत्रलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरी पोल्ट्री उत्पादन नष्ट गरिएको थियो ।
जिल्ला पशुसेवा कार्यालय, चितवनका अनुसार सङ्कटग्रस्त क्षेत्रमा ११ हजार ९ सय ५० लेयर्स कुखुरा, २३ लोकल कुखुरा, १ सय ४४ हास, चार ब्रोइलर कुखुरा, ६ सय ७ किलो दाना र १२ हजार ७ सय २६ ओटा अण्डा नष्ट गरिएको थियो, जसको मूल्य ७० लाखबराबर रहेको छ । नष्ट गरिएकामध्ये भर्खर अण्डा दिन लागेकाको प्रतिकुखुरा ५ सय रुपैयाँ र अण्डा दिएर सक्ने बेला भएकाको प्रतिकुखुरा ३ सय रुपैयाँ मूल्य सिफारिश गरिएको छ ।
बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ ले क्षतिको अधिकतम ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ । पशुसेवा कार्यालय, चितवनका प्रमुख डा. चेतनारायण खरेलका अनुसार सो क्षेत्रमा ४२ दिनसम्म परीक्षण र अनुगमन गरिनेछ । सङ्कटग्रस्त क्षेत्रमा हाल कुखुरा पाल्न निषेध गरिएको छ ।










