प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द ‘सम्माननीय’ प्रयोग नगरेको भन्दै संशोधन दर्ता गराएको छ । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सम्माननीय र माननीय नभनी सभामुख, राष्ट्रियसभा अध्यक्ष र सांसदहरू मात्र भनेकी थिइन् । उनको सम्बोधनको लिखित दस्तावेजमा भने यी आदरार्थी छन् । अघिल्ला आर्थिक वर्षहरूमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुखलाई सम्माननीय र सांसदलाई माननीय भनेर सम्बोधन गरिन्थ्यो । नेपाली काङ्ग्रेसको यो संशोधन प्रस्तावले सामान्य नागरिकसमेत अचम्ममा परेका छन् । सामन्ती समाजका अवशेषका रूपमा मानिने यस्तो सम्माननीय र माननीय शब्द गणतन्त्रको स्थापनापछि पूर्णतः हटाउनुपर्ने तथा राष्ट्रपति भण्डारीलाई उल्टै धन्यवाद दिनुपर्नेमा संशोधन प्रस्ताव पेश गर्नु उदेकलाग्दो छ । साथै, भाषणको लिखित दस्तावेज तयार गर्ने वामपन्थी सरकार र काङ्ग्रेसको यो ‘सम्माननीय’ र ‘माननीय’को लोभले नेपालमा राजनीतिक परिवर्तन भनेको व्यवस्था मात्रै फेरिएको हो, सोच फेरिएको छैन भन्ने प्रमाणित गर्छ ।
सांसदहरूलाई माननीय र त्यसबाहेक केही उच्चपदस्थ व्यक्तिहरूलाई सम्माननीय भनी ‘द राइट अनरेवल’ र ‘द अनरेवल’ प्रयोग गर्ने प्रचलन बेलायतबाट नै शुरू भएको हो ।
सरकारको कार्यसम्पादन नियमावलीले नेपालको राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्रीलगायत ६ जनालाई सम्माननीय भन्ने व्यवस्था गरेको छ । यो नियमावली नै संविधानको मर्मविपरीत भएकाले त्यसलाई सच्याइनुपर्छ, यसका लागि काङ्ग्रेसले आवाज उठाएको भए प्रतिपक्षको भूमिका प्रभावकारी देखिन्थ्यो । तर, यसरी माथिल्लो पद र जिम्मेवारीमा रहेका व्यक्तिहरू माननीय र सम्माननीय शब्दले पुकारिँदा गजक्क पर्ने गरेको देखिन्छ । अझ सार्वजनिक समारोहमा यस्ता शब्दले विभूषित हुन पाएकोमा गजक्क पर्ने बानी परेका विशिष्ट व्यक्तिहरू आफूलाई अर्कै ग्रहका व्यक्तिझैं सम्झेर मख्ख पर्ने गरेका छन् । पूर्वमन्त्री र पूर्वसांसदहरूलाई समेत यो रोगले खाएको छ । तर, नेपाल गणतान्त्रिक युगमा प्रवेश गरिसकेको अवस्थामा यसरी सामान्य जनताबाट विभेद जनिने गरी सम्माननीय र माननीयको पगरी गुथ्नु अशोभनीयमात्र होइन, जनतालाई दोस्रो दर्जाका रूपमा हेर्ने प्रवृत्तिको निरन्तरता पनि हो । काङ्ग्रेस संसदीय दलको बैठकले सरकारले सम्मानित पदको अपमान गरेको निष्कर्ष निकाल्नु पनि यही प्रवृत्तिको द्योतक हो । राष्ट्रपतिले जानीजानी माननीय शब्द प्रयोग नगरेकी हुन् वा अलमलिएकी हुन् त्यो स्पष्ट छैन । तर, उनले जानीजानी यसो गरेकी हुन् भने त्यसको प्रशंसा गर्नुपर्छ । सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरिएकोमा त्यसलाई संशोधन गरी नेपालको संविधानको व्यवस्था, मर्म र भावना, प्रचलित परम्पराअनुरूप सम्मानजक पदावली प्रयोग गरिनुपर्छ भन्ने कङ्ग्रेसको निर्णय गलत छ । पहिलो त नेपालको संविधानले विभेदरहित र समावेशी समाजको कल्पना गरेको हुँदा यो संविधानविपरीत छैन । अर्को, प्रचलित परम्परा भन्दै आफूलाई ‘ठूलो’ देखाइरहने हो भने राजनीतिक आदर्श सबै खोक्रा बोक्रा हुन् भनी काङ्ग्रेसले स्वीकार्नुपर्छ । तेस्रो, नयाँ सम्बोधनले गणतन्त्रलाई आत्मीयताका साथ आत्मसात् गरेको देखाउन यस्ता सामन्ती सम्बोधनलाई अन्त्य गर्नुपर्छ ।
सांसदहरूलाई माननीय र त्यसबाहेक केही उच्चपदस्थ व्यक्तिहरूलाई सम्माननीय भनी ‘द राइट अनरेवल’ र ‘द अनरेवल’ प्रयोग गर्ने प्रचलन बेलायतबाट नै शुरू भएको हो । अहिले खास गरी कमनवेल्थका सदस्य राष्ट्रहरूमा यही ‘द राइट अनरेवल’ र ‘द अनरेवल’ शब्दावलीको प्रयोग भइरहेको पाइन्छ । यस्तो शब्दको प्रयोग विश्वका प्रायः देशहरूमा नपाइने होइन । अझ कतिपय देशमा चाहिँ संसद्भित्र सम्बोधन गर्दा ‘द अनरेवल’ शब्द प्रयोग गर्नुपर्ने अन्यत्र गर्नुपर्ने आवश्यकता छैन । नेपालमा राजतन्त्रको पालामा बेलायती संसद र त्यहाँका राजतन्त्रले प्रयोग गर्ने शब्दहरूको सिको गर्दै सम्माननीय र माननीय शब्दावलीको प्रयोग गरिएको हो । त्यस्तै बेलायतमा नै प्रयोग हुने ‘हिज मेजेष्टी’को नक्कल गर्दै नेपालमा राजपरिवारले श्री ५ पदावली प्रयोग गर्न थालेको हो भन्ने इतिहासकारको भनाइ छ । राजतन्त्रको अन्त्य भएसँगै अब यस्ता शब्दहरूको प्रयोग हटाउनुपर्छ । नेपालका पत्रपत्रिकाहरूले उच्च आदर जनाउने क्रियाको प्रयोग हटाइसकेका छन् र सबैलाई सामान्य आदर जनाउने उनी, तिमीजस्ता शब्दको प्रयोग गरिरहेका छन् । यस्तोमा सांसदहरूले माननीय भनिएन भनेर आपत्ति जनाउनु नै आपत्तिजनक छ भन्न सकिन्छ । गोरखापत्रबाहेक अन्य सबैजसो राष्ट्रिय स्तरमा अखबारहरूले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री आदिलाई सामान्य आदर नै प्रयोग गरेको धेरै नै भइसकेको छ । त्यति मात्र होइन, उच्च आदरार्थी जनाउने शब्दलाई पनि बिस्तारै नेपाली जनमानसले बिदा गर्दै छ । यस्तोमा सांसदहरूको यो माननीय मोह सम्मानको भोकबाहेक केही पनि होइन भन्न सकिन्छ । अतः उनीहरूले आफूलाई जनसामान्य बनाउन यस्ता विशिष्ट सम्मानजनक शब्दको प्रयोग हटाउन पहल गर्नुपर्छ ।









2 Comments
राम वहादुर पाईजा
यो ठिक कुरा हो । म हताऊने पक्षमा छु ।धन्यबाद
Ramlal banjade
केही भ्रष्ट नेता का कारण कहिलेकाही हामी सर्वसाधारण जनता भन्दा पनि तल पर्न सक्छौं भन्ने कुरा बुझ्नु पर्छ ।