रोशनी भट्टराई
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’को बयान २ दिनमा पनि सकिएन । उनको बयान शुक्रवार मात्र सकिने जिल्ला अदालत मोरङले बताएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा बुधवारदेखि बिहीवार ५ बजेसम्म बयान दिँदा पनि अझै नसकिएको हो ।
गोरेको बयान सकिएपछि आइतवार मात्र थुनछेक बहस शुरू हुनेछ । गोरेलाई कडा सुरक्षा व्यवस्था दिएर प्रहरीले बिहान १० बजे नै बयान गर्न अदालत पेश गर्दै आएको छ । २ दिनमा गोरेले १६ पृष्ठको बयान दिएको स्रोतको भनाइ छ । प्रारम्भिक बयानमा गोरेलाई घटनाको पृष्ठभूमिसँग जोडिएका प्रश्न सोधिएको स्रोतको दाबी छ । गोरेले बयानमा मुद्दाका प्रतिवादीको तस्करीमा संलग्नता रहेको बताएको अदालत स्रोतले जानकारी गराएको छ ।
बयान सकिएपछि सरकारी वकीलका तर्फबाट बहस हुनेछ । गोरेको तर्फबाट अधिवक्ता यामबहादुर मगरले बहस गर्नेछन् । बहस सुन्ने र थप प्रमाण बुझेपछि इजलासबाट थुनछेकको आदेश हुनेछ । अदालतले मङ्गलवार मात्र ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एकजनालाई धरौटी र एकजनालाई सामान्य तारेखमा राख्ने आदेश गरेको थियो । प्रहरीको १ महीना लामो अनुसन्धानपछि गत वैशाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेश गरेको थियो । उनीहरूविरुद्ध सङ्गठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।
मुद्दामा प्रहरीका उच्च अधिकारीलगायत ६३ जना विपक्षी रहेका छन् । मिलेमतोमा सुन तस्करी गर्ने गोरे समूहले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पु¥याएको दाबी अभियोगपत्रमा उल्लेख गरिएको छ ।
३२ जनाको नाममा म्याद जारी गर्ने तयारी
साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा फरारको नाममा उपस्थितिका लागि म्याद जारी गर्न लागिएको छ । फरार रहेका ३२ जनाको नाममा ७० दिनको म्याद जारी गर्ने तयारी गरिएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताए । घटनामा प्रतिवादी बनाइएका ६३ मध्ये ३२ जना अझै फरार छन् । ३१ जना पक्राउ परेका छन् । पक्राउमध्ये २८ जना पुर्पक्षका लागि अहिले झुम्का कारागारमा छन् । अदालतले फरार रहेका बहालवाला नेपाल प्रहरीका एसएसपी श्यामबहादुर खत्रीसहित ३२ जनाकै हकमा म्याद जारी गर्ने तयारी गरेको हो ।
अदालतले म्याद जारी गर्ने तयारी गरिएका प्रतिवादी :
- बहालवाला एसएसपी श्यामबहादुर खत्री
- कामनपा–७ गौरीघाट बस्ने गोरेकी पत्नी नर्वदा खरेल उप्रेती (निरु)
- काठमाडौं बस्ने गोरेकी ‘गर्लफ्रेण्ड’ रक्षा भण्डारी (आरबी)
- रमेश उप्रेती
- काठमाडौं नागार्जुन बस्ने छिरिङ वाङगेल घले (डेबिट)
- त्रिभुवन विमानस्थलअगाडि बाजेको सेकुवा कर्नरका प्रोप्राइटर चेतनाथ भण्डारी (चेतन)
- काठमाडौं, न्यूरोडका सुन व्यापारी प्रमोदकुमार श्रेष्ठ
- न्यूरोडमा सुन पसल गर्ने धनकुटा नगरपालिका–४ की गीता श्रेष्ठ
- काठमाडौं–१६ का मणिराज चौलागाईं
- सुनसरी, धरानका कृष्ण बस्नेत
- धरान घर भई काठमाडौं बस्ने मोहनकुमार अग्रवाल (एम के मामा)
- सुनसरी, धरान–२ का सुनिलकुमार अग्रवाल
- सुनसरी, इटहरीकी बेनु श्रेष्ठ
- धरान–१ घर भई काठमाडौं बस्ने सुन पसले सुनिल श्रेष्ठ
- मोरङ उर्लाबारीका भविन तामाङ
- मोरङको सुनवर्षी नगरपालिका–६ का अर्जुनप्रसाद खरेल
- मोरङ, कानेपोखरी–४ का माधव आचार्य
- मोरङ, सुन्दरहरैंचा–२ का ओमप्रकाश नेवार
- झापा, गौरादहका भोजराज भण्डारी (भोजे मामा)
- झापा, मेचीनगरका मोहमद उस्तम मियाँ (रुस्तम)
- झापा, शिवसतासी घर भई काठमाडौं बस्ने कृष्ण गोपाल अग्रवाल
- सोलुखुम्बू, दूधकुण्डका टुकबहादुर मगर
- सिरहा, धनगढीमाईका रोहित आचार्य
- काभ्रेपलाञ्चोक, बेथानचोक–४ का हरिशरण खड्का
- बाग्लुङ, काठेखोला–७ का कमल कार्की
- सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–१ शिवकुमार गुभाजू
- सिन्धुपाल्चोक, बलेफी–५ का सञ्जय अधिकारी
- पर्वत, पैयूँ–७ का गुप्तलाल भुषाल (रोशन)
- काभ्रेपलाञ्चोक, बेथान–४ का रामहरि कार्की
- कास्की, लेखनाथ–२१ का प्रयास पराजुली र समिर अधिकारी
- मकवानपुरका सुरेन्द्र गौतम










