काठमाडौं (अस) । चालू आर्थिक वर्षको ८ महीनामा नेपालका संरक्षित क्षेत्रहरूमा साढे ३ लाख पर्यटकले भ्रमण गरेका छन् । यसबाट सरकारले ३५ करोड राजस्व सङ्कलन गरेको छ ।
सरकारले आइतवार प्रकाशन गरेको आर्थिक सर्वेक्षणले गत आर्थिक वर्ष ६ लाखभन्दा बढी पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको देखाएको छ । यसबाट सरकारले ५५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।
नेपालमा १२ ओटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्ष, ६ ओटा संरक्षण क्षेत्र र १३ ओटा मध्यवर्ती क्षेत्र छन् । खासगरी पर्यटकहरू गैंडा, हात्ती, बाघ, हिमचितुवा, अर्ना, कृष्णसार, गौरीगाई, बाह्रसिङ्गे, गोडियाल घोही हेर्न यहाँका संरक्षित क्षेत्रहरूमा जाने गर्दछन् ।
यसैगरी चालू आर्थिक वर्षमा राष्ट्रिय वनस्पति उद्यान २ लाख ७५ हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन् । यसबाट सरकारले करीब १ करोड राजस्व सङ्कलन गरेको छ । यो आर्थिक वर्षमा ८ सय ६ हेक्टर क्षेत्रफलमा १२ ओटा वनस्पति उद्यान व्यवस्थापन गरिएको छ ।











