काठमाडौं (अस) । नेपालमा पोषणका लागि आवश्यक प्रतिव्यक्ति पशुपक्षीजन्य उत्पादन अपुग रहेको आर्थिक सर्वेक्षण २०७४/७५ ले देखाएको छ । प्रतिव्यक्ति दूध वार्षिक ९१ लिटर आवश्यक रहेकोमा आव २०७३/७४ सम्ममा ७१ दशमलव ७ लिटर मात्र उपलब्ध छ । त्यस्तै, प्रतिव्यक्ति मासुको आवश्यकता १४ किलोग्राम रहे पनि १२ दशमलव ४ केजी मात्र उपलब्ध छ ।
व्यक्तिका लागि आवश्यक पशुजन्य पोषणमा निकै अन्तर रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले दूध, मासुजस्ता निकै आवश्यक वस्तुको उपलब्धता कम हुनुलाई निराशजनक अवस्था भनेको छ । तर, अण्डा उत्पादनको अवस्था भने भने सुधारिएको उक्त सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार प्रतिव्यक्ति अण्डा वार्षिक ४८ ओटा आवश्यक रहेकोमा आव २०७३/७४ मा ५० ओटा उपलब्ध छ ।
पशुपक्षीजन्य पोषणको प्रतिव्यक्ति वार्षिक आवश्यकता परिपूर्ति गर्न पशुपक्षी विकासका आयाम थप फराकिलो बनाउनुपर्ने सर्वेक्षणमा उल्लेख छ । कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालयका वरिष्ठ पशुपक्षी विकास अधिकृत टेकबहादुर ऐरले आवश्यकताअनुरूप दूध उत्पादन परिपूर्तिका लागि भने अझै केही वर्ष लाग्ने बताएका छन् । सरकारले चालू आवमै आवश्यकताअनुसार दूध उत्पादन गरी आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । यद्यपि, विविध कारण सो लक्ष्य तत्काल हासिल नहुने देखिएको उनको भनाइ छ ।