डँडेलधुरा (अस) । डँडेलधुराको अमरगढी नगरपालिकामा सूचनाप्रविधि केन्द्र स्थापना गरिएको छ । उक्त केन्द्रको उद्घाटन प्रदेश नम्बर ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले आइतवार गरेका हुन् । सो अवसरमा मन्त्री शाहले नागरिकमा सूचनाप्रविधिको पहुँच पु¥याउन र स्थानीय सरकार जवाफदेही तथा पारदर्शी बन्न यसबाट सहज हुने बताए ।
सेसी नेपालको आर्थिक सहयोग, ग्रामीण वातावरण विकास केन्द्रको सहजीकरण तथा योङ इन्नोभेशन र फ्रिडम फोरमको प्राविधिक सहयोगमा उक्त केन्द्र स्थापना गरिएको नपाले बताएको छ । नगरपालिकाभित्रका हरेक गतिविधिबारे स्थानीय जनतालाई सुसूचित गराउने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त केन्द्रले नगरवासीको गुनासा सुन्न र जवाफदेही बन्न सहयोग पुग्ने कार्यालयको विश्वास छ । सूचनाप्रविधि केन्द्र सञ्चालनमा आएसँगै अब योजना तथा कार्यक्रम डुब्लिकेशन हुने समस्या अन्त्य हुने अपेक्षा गरिएको नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।