अछाम (अस) । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर बजारभित्रको सडक निर्माणमा ढिलासुस्ती भएको छ । बजारभित्रको ३ सय ५० मिटर लम्बाइको सडकको कालोपत्रको काम १ वर्षदेखि अलपत्र रहेको हो ।
सडक निमार्णमा ढिलाइ भएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । ठेकेदारको मनपरीका कारण आफूहरूले हिउँदमा धूलो र वर्षायाममा हिलोको समस्या भोग्नुपरेको व्यापारी रूपबहादुर कुँवरले बताए । ‘यही सडकमा केन्द्रदेखि प्रदेशका सांसद हिँड्छन्, तर सडक अहिलेसम्म किन बनेन भनेर कसैले चासो देखाएनन्,’ उनले भने ।
सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन दबाबमूलक कार्यक्रम गर्ने अर्का व्यापारी पुरन कुँवरले बताए । उक्त सडक १ महीनाभित्र कालोपत्र सक्ने गरी २०७४ जेठमा सम्झौता भएको थियो । रू. ८० लाखको लागतमा सम्झौता भएको थियो । तर, हालसम्म सडकको नाली बनाउने काम मात्र सकिएको छ । काम गर्ने जनशक्तिको अभाव र आवश्यक स्रोतसाधनको अभावका कारण निमार्णमा ढिलाइ भएको सडक निर्माणको जिम्मा लिएका केएम निर्माण सेवाका सञ्चालक टङ्क कुँवरले बताए ।











