धनगढी (अस) । प्रदेश नम्बर ७ मा सय दिनको अवधिमा सरकारको कार्यप्रगति सुस्त देखिएको छ । विभिन्न ऐन तथा नियमावली पारित हुन नसकेपछि कार्यप्रगतिले ठोस रूप लिन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमवार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।
उनले कानून, कर्मचारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि त्यसको सामना गर्दै प्रदेश नं. ७ को समृद्धि र विकासका लागि प्रदेश सरकार लागिपरेको जानकारी दिए । सङ्घीयताको जग बसाल्ने विषयप्रति प्रदेश सरकार बढी केन्द्रित भएकाले नागरिकले आभाष हुने गरी अपेक्षित प्रगति नदेखिएको उनको भनाइ थियो । प्रदेश सरकारले मुख्यतया सो अवधिसम्ममा प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४, कार्य सम्पादन नियमावली २०७४ र केही सार्वजनिक लिखित प्रमाणीकरण नियमावली २०७४, आचारसंहिता २०७४, श्वेतपत्रको सार्वजनिकीकरण, हेलो सीएम कार्यविधि २०७५ लगायत पारित गरेको उनले जानकारी गराए ।











