काठमाडौं (अस) । मोदी इनर्जी प्रालिले निर्माण गरिरहेको तल्लो मोदीखोला जलविद्युत् आयोजना (२० मेगावाट)को निर्माणस्थलको क्याम्प साइटमा मङ्गलवार अज्ञात समूहले बम राखेको र सो बमलाई सुरक्षाकर्मीले निष्क्रिय पारेको सम्बन्धमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संस्थाले मङ्गलवार विज्ञप्ति जारी गरी विगतमा पनि जलविद्युत् आयोजनाहरूलाई लक्षित गरी यस्ता थुप्रै घटनाहरू घटिसकेका र हालसम्म पनि यस्ता घटनालाई निरुत्साहित गर्ने कुनै पनि संयन्त्र निर्माण नभएकोमा आपत्ति व्यक्त गरेको छ ।
‘यस्ता कार्यले ऊर्जा क्षेत्रमा नकारात्मक प्रभाव पर्ने र स्वदेशी तथा विदेशी लगानीलाई निरुत्साहित तुल्याई सरकारको ३ वर्षमा ३ हजार मेगावाटको लक्ष्य पूरा नहुने निश्चित देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । संस्थाले तत्काल उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही गर्न माग गरेको छ ।










