काठमाडौं (अस) । काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिशन डा. अजय कुमारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई ५२ करोड ९७ लाख २६ हजार रुपयाको चेक हस्तान्तरण गरेका छन् । सो रकम भारत सरकारको सहयोगमा नेपालमा पोष्टल हाइवे परियोजनाअन्तर्गत वीरगञ्ज–ठोरी सडक निर्माणका लागि दिइएको हो । यो रकमसँगै भारत सरकारले हालसम्म नेपाल सरकारलाई पोष्टल हाइवे परियोजनाका १४ ओटा प्याकेज कार्यान्वयनका लागि कुल १ खर्ब ८८ करोड २१ लाख रुपया उपलब्ध गराइसकेको छ ।
हालसम्म भारत सरकारको सहयोगमा हुलाकी राजमार्गमा पर्ने दुईओटा सडक धनगढी–बाजिनिया सट्टीरडक र लम्की–टीकापुर–काक्रौला सडकको निर्माण सम्पन्न भइसकेको छ । सन् १९५० यता भारत सरकारले नेपालको पूर्वाधार विकासमा लगातार सहयोग गर्दै आएको छ भने विभिन्न राजमार्ग, सडक, पुल, विमानस्थलजस्ता पूर्वाधारको निर्माणमा आर्थिक सहयोग पनि प्रदान गरिसकेको छ ।




