टोकियो (जापान) । जापानी सिगरेट उत्पादक कम्पनी ‘जापान टोबाको इङ्क’ (जेटी)ले टोबाकोको मूल्य घटाउने तयारी गरिरहेको छ । घरेलु बजारमा प्रतिस्पर्धा चर्को भएसँगै अमेरिकी बहुराष्ट्रिय सिगरेट तथा टोबाको उत्पादक कम्पनी फिलिप मोरिसले टोबाकोको मूल्य घटाएपछि जेटीले पनि त्यस्तै गर्न थालेको हो । जेटीले प्लुम टेक डिभाइसको मूल्य अहिलेको ४ हजार येनबाट घटाएर ३ हजार येन (२७ डलर ६१ सेण्ट)मा ल्याउने बताएको छ । नयाँ मूल्य आगामी सोमवारदेखि औपचारिक रूपमा लागू हुनेछ । जापानको सिगरेट बजारमा जेटीको हिस्सा करीब ६० प्रतिशत छ ।
फिलिप मोरिसले शुक्रवार टोबाको हिटिङ उपकरण आईक्यूओएसको मूल्य ३० प्रतिशतले घटाएर ७ हजार ९ सय ८० येनमा ल्याउने घोषणा गरेको थियो । तरल निकोटिन भएको नियमित खालका ई–सिगरेटमाथि प्रतिबन्ध लगाइएको छ । कम धुवाँ उत्सर्जन गर्ने र कम बासना आउने ‘हिट नट बर्न’ (एचएनबी) का लागि जापान मुख्य बजार पनि हो । विश्वको कुल एचएनबी बजार ५ अर्ब डलरबराबरको छ । यसको ९० प्रतिशतभन्दा धेरै हिस्सा जापानको पोल्टामा भएको बजार अनुसन्धाता संस्था यूरोमनिटरले बताएको छ । एजेन्सी











