तनहुँ (अस) । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटक प्रहरी परिचालन गरेको छ । पर्यटकहरूलाई सुविधा र सुरक्षाको प्रत्याभूति दिलाउन तीनजना पर्यटक प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । बन्दीपुर आउने पर्यटकहरूलाई सहज रूपमा घुमफिर गर्ने वातावरण बनाउन, पर्यटकहरूको सामानको सुरक्षा, होटल तथा गेष्टहाउसमा चेकजाँच गर्न र पर्यटकको इन्स्योरेन्स भएको सामान हराएमा सम्बन्धित निकायसँग क्षतिपूर्तिका लागि समन्वय गर्ने काम पर्यटक प्रहरीले गर्ने उनले बताए । पर्यटकहरूका समस्या सोझै बुझ्ने र त्यसलाई सहजीकरण गर्न प्रहरीलाई खटाइएको कार्यालयले बताएको छ ।
पर्यटक प्रहरीको दरबन्दी पर्यटन मन्त्रालयले निर्धारण गर्ने गर्छ । बन्दीपुरमा आउने पर्यटकका समस्याबारे पोखरा खबर गर्नुपर्दा समस्या परेको पटकपटक गुनासो आएपछि बन्दीपुरमा पर्यटक प्रहरी बिट स्थापना गरी पर्यटक प्रहरी परिचालन गरिएको एसपी शाहको भनाइ छ । गर्मीयाममा बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप अत्यधिक बढ्छ । अहिले बन्दीपुरमा दैनिक १ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।










