काठमाडौं (अस) । छिन्नलता गीत पुरस्कार गुठीले ‘छिन्नलता गीत पुरस्कार २०७४’ को घोषणा गरेको छ । संस्थाका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले सो निर्णय गरेको हो ।
संस्थाले बुधवार सार्वजनिक गरेको सूचनाअनुसार गीत रचनामा ज्ञानेन्द्र गदाल, सङगीत रचनामा बसन्त क्षत्री र गायनमा सङ्गीता राना प्रधानलाई सम्मान गरिने भएको छ । त्यस्तै, युवा नव प्रतिभामा कुटुमा कुट बोलको गीतका लागि मेलिना राई र राजनराज सिवाकोटीलाई संयुक्त रूपमा पुरस्कृत गरिने भएको छ । छिन्नलता विशेष सम्मान गायन विधामा समर्पित व्यक्तित्व शान्ति ठटाल र गीत रचना विधामा समर्पित व्यक्तित्व शिवशङ्कर थापालाई दिइने भएको छ ।
संस्थाका अनुसार यी पुरस्कार गुठीका संस्थापिका तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्मतिथि पारेर आगामी साउन ७ गते कार्यक्रम आयोजना गरी वितरण गरिनेछ ।










