भक्तपुर (अस) । भक्तपुर च्याम्हासिंहस्थित वागीश्वरी मावि÷कलेजको हीरक वर्षको अवसरमा विद्यालय स्थापनार्थ सहयोग गर्ने स्थानीय १३ ओटा गुठीका ३७ जना नाइके र बहिदारलाई मङ्गलवार घण्टा उपहार दिई सम्मान गरिएको छ । विद्यालयले ६० वर्ष पूरा गरेको अवसरमा यस वर्ष १२ महीनामा १२ ओटा कार्यक्रमका साथ हीरक वर्ष मनाइरहेको छ ।
प्रमुख अतिथि एवम् भक्तपुर नगर कार्यपालिकाका प्रमुख सुनील प्रजापतिले सम्मानित व्यक्तिलाई प्रतिव्यक्ति १ हजार नगदसहित १३ ओटै गुठीलाई १३ ओटा घण्टा प्रदान गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले देशका विभिन्न भागबाट आएका विद्यार्थीले आफ्नो भविष्य देखेकै कारण विद्यालयमा विद्यार्थीको भर्ना बढेको बताए । अन्य विद्यालयभन्दा यस विद्यालय देशकै लागि नमूना बन्न सक्नुमा उनले स्थानीय अग्रजको योगदान रहेको धारणा राखे । प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको हालसम्मको प्रगति प्रतिवेदन पेश गर्दै झिँगटी छानाबाट शुरू भएको विद्यालयले वार्षिक ४० लाख रुपैयाँ छात्रवृत्ति दिइरहेको बताए ।











