Latest posts by राकमज सिंह (see all)
जनकपुरधाम । धनुषामा राज्यका निकाय तथा जनप्रतिनिधिकै सेटिङमा चुरे क्षेत्रबाट अवैध रूपमा ग्राभेल तथा बालुवागिट्टी तस्करी भइरहेको छ । सरकारको ऐन कानूनलाई धज्जी उडाउँदै धनुषाको चुरे तथा नदीबाट अवैधरूपमा नदीजन्य सामग्री चोरीनिकासी भएको स्थानीयको आरोप छ ।
धनुषाको उत्तरी क्षेत्र पुष्पवलपुर, गोदार, पोर्ताहा, बेंगाडाबर, नक्टाझिझ, वीरेन्द्रबजार र तुल्सी राष्ट्रपति चुरे संरक्षण क्षेत्रअन्तर्गत पर्दछ । यी क्षेत्रमा ढुङ्गैढुङ्गा भएको जग्गाबाट ग्राभेल बेचेर मालामाल बन्ने गिरोह यतिबेला सक्रिय छ । चोरी तस्करीले चुरे संरक्षणमा केन्द्र सरकार तथा प्रदेश सरकारको लगानी बालुवामा पानीजस्तै भएको स्थानीय वेद महतो बताउँछन् ।
सरकारले चुरे क्षेत्रबाट ग्राभेल, ढुङ्गा, बालुवा उत्खननमा रोक लगाएको छ । यद्यपि, धनुषाको गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका र क्षिरेश्वनाथ नगरपालिकाका चुरे क्षेत्रबाट अवैध रूपमा ग्राभेल तथा बालुवागिद्वी उत्खनन भइरहँदा पनि राज्य संयन्त्रले रोक्न खासै चासो नराखेको गणेशमान चारनाथ नगरपालिकाका राजकरण यादव बताउँछन् ।
ठेकेदारहरूले डोजर र एक्स्याभेटर प्रयोग गरेर ग्राभेल निकाल्ने र ट्रिपरबाट ओसारिरहेका छन् । यसबाट चुरे क्षेत्र थप जोखीममा परेको तर पनि राज्यको आँखा नपुग्दा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव यादव चिन्ता व्यक्त गर्छन् । राज्यका निकाय र ठेकेदारको मिलेमतोका कारण चुरे क्षेत्र विनाश हुँदै गएको छ । समयमै चुरे क्षेत्रभित्रको अवैध उत्खनन तथा चोरी निकासी नरोकिए तराई मरुभूमिमा परिणत हुने निश्चित रहेको जिससका उपप्रमुख दीपक झा बताउँछन् ।











