काठमाडौं (अस) । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका छन् । मङ्गलवार नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री डा. खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका हुन् ।
महासङ्घका कार्यवाहक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वको प्रतिनिधिमण्डलले विभिन्न सरकारी निकायबाट भुक्तानी हुनुपर्ने झण्डै ४२ अर्बभन्दा बढी रकम प्राप्त नहुँदा देशभरका व्यवसायी ठूलो मारमा परेको जानकारी अर्थमन्त्रीलाई गराएको थियो । प्रतिनिधिमण्डलले हेभी इक्युप्मेन्टमा लाग्ने कर मिनाहा गरिदिन आग्रह गरेकोमा अर्थमन्त्री खतिवडाले आफू यसमा सकारात्मक रहेको बताए ।
यसैबीच, महासङ्घले हालै जारी गरिएको सही कारोबारसहित विवरण बुझाई तिनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरको बक्यौता देखाउने निर्माण व्यवसायीलाई ब्याज हर्जाना छूट गरिने सूचनाप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । सो सूचनाले इमानदार व्यवसायीलाई मर्का पर्ने र विवरण नबुझाउने तथा बक्यौता नदेखाउने प्रवृत्ति बढ्न गई राजस्वको लक्ष्य प्राप्तिमा असर पर्न जाने महासङ्घको भनाइ छ ।
त्यसैले सबै व्यवसायीले तिर्नु तथा बुझाउनु पर्ने सबै मूल्य अभिवृद्धि कर तथा आयकर २०७५ पुस मसान्तसम्म बुझाएमा ब्याज, हर्जाना छूट दिने सुविधा दिई तिर्न तथा बुझाउन बाँकी बक्यौता राजस्व फरफारक गर्ने अवसर एक पटकको लागि प्रदान गर्नका लागि पहल गरिदिन आग्रह गरेको छ ।




