जेठ ३०, नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रू. ५० करोड बक्यौता रकम भुक्तानी पाएका छैनन् । जिल्लामा रहेको तीनओटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि पाएका छैनन् ।
उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार चिनी उद्योगले करीब रू. ७५ करोडमध्ये हालसम्म करीब रू. २५ करोड बराबरको भुक्तानी गरे पनि अन्य सबै रकम भुक्तानी गर्न बाँकी छ ।
पटकपटक उखुको भुक्तानी दिन माग गरे पनि जिल्लाका उद्योगले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेकाले किसानले उखुको तत्काल भुक्तानी नपाए आफूहरु राजमार्ग बन्द गरेर आन्दोलनको बाटो रोज्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
उद्योगीले भने चिनी विक्री नभएकाले दिन नसकिने भन्दै किसानलाई आलटाल गर्ने गर्दै आएका छन् । उत्पादन भएका चिनी गोदाममा थन्किएकाले उचित मूल्य नपाएका कारण विक्रीमा समस्या भएको उद्योगले बताएका छन् ।
तीनओटा उद्योगले १६ लाख बढी क्विन्टल उखु क्रसिङ गरी चिनी उत्पादन गरेको समितिले जनाएको छ । भुक्तानी नपाउँदा जिल्लाका करीब १० हजार बढी किसान समस्यामा छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए पनि जिल्लाका किसानले भने अहिलेसम्म रकम पाउन सकेका छैनन् ।
यसबारे पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सबै उद्योगका सञ्चालकलाई समन्वय गरी भुक्तानी गर्न पहिल गरिने जानकारी दिए ।
समयमा भुक्तानी नपाउँदा जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दो छ । दुई वर्षअघि २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा गत वर्ष २० लाख मात्र उत्पादन भएको थियो । यसवर्ष १६ लाख क्विन्टल उत्पादन भएको समितिले जनाएको छ ।
पश्चिम नवलपरासीको दक्षिण क्षेत्रको मुख्य बाली नै उखु हो । वर्षेनी यस क्षेत्रमा करीब २० लाख क्विन्टलका दरले उखु उत्पादन हुने गरेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब १० हजार घरपरिवार उखु खेतीमा निर्भर छन् । रासस




