ताप्लेजुङ (अस) । एकभन्दा बढी क्षेत्रमा काम गर्ने उद्देश्यसहित खुलेका गैरसरकारी सङ्घसंस्थाले अब एउटा मात्र उद्देश्य राखेर काम गर्नुपर्ने भएको छ ।सरकारको मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार अब एकभन्दा बढी क्षेत्रमा काम गर्ने गैरसरकारी सङ्घ संस्थाको दर्ता र नवीकरण दुवै हुने छैन । गएको जेठ २५ गते नेपाल सरकारको मन्त्रिस्तरीय बैठकले यस्तो निर्णय गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताए । उनका अनुसार यसअघि दर्ता भएका सङ्घसंस्थाले उद्देश्य संशोधन गरी एउटा मात्रै बनाउनुपर्ने भएको छ भने अब दर्ता हुने संस्थाले पनि एउटा मात्र उद्देश्य राख्नुपर्ने भएको छ ।
पुराना संस्थालाई नयाँ निर्णयअनुसारका प्रक्रिया पुर्याई प्रथमपटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रै नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आह्वान गरेको छ । यदि सो अवधिमा नवीकरण नगरे संस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढाइने बताइएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार यहाँ ४ सय ९६ संस्था दर्ता भएका छन् । तर, १ सय १७ ओटाले मात्रै नवीकरण गरी सञ्चालनमा छन् ।











