Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । चीनसँग सरकारले राष्ट्रिय हितका आफ्नै स्पष्ट एजेण्डा राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल–चीन नीतिलाई थप बलियो बनाएर आर्थिक समृद्धिको पक्षमा अझै धेरै फाइदा लिन प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा राष्ट्रिय हितका स्पष्ट एजेण्डा हुनुपर्नेमा जोड दिइएको हो ।
साउथ एशियन वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोमेण्ट (सावती)ले शनिवार काठमाडौंमा गरेको कार्यक्रमका सहभागी परराष्ट्र मामिलाका जानकार, विज्ञ, व्यवसायी तथा सरोकारवालाले आर्थिक शक्तिका रूपमा उदाएको चीनबाट फाइदा लिन पनि नेपालसँग स्पष्ट एजेण्डा हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका पूर्वउपसचिव ज्ञानचन्द्र आचार्यले नेपालले चीनसँँग दिगो विकासका लागि स्वतन्त्र निर्णय लिनुपर्ने बेला आएको भन्दै प्रधानमन्त्री ओलीको भ्रमणअघि नै त्यस किसिमका एजेण्डा तयार गर्नुपर्नेमा जोड दिए । उनले नेपालको छिमेक नीति स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै कहिले भारत र कहिले चीनसँग निर्भर भने हुन नहुने बताए ।
नेपाल–भारत प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराईले रेल सञ्जाल विस्तारलगायत एजेण्डाले भ्रमणमा स्थान पाउनुपर्ने बताए । ठूलो सञ्जाल विस्तारका लागि सरकारले ऋण सहयोगमा भन्दा पनि अनुदानमा रेल सेवा सञ्जाल विस्तार गर्न चाहिरहेको भन्दै डा. भट्टराईले त्यसबाट चीनसँग अहिले नै स्पष्ट हुनुपर्नेमा जोड दिए । त्यसैगरी पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रिय समृद्धिका सडक सञ्जाल अनुदानमा मात्र बन्न सम्भव नहुने भन्दै सञ्जालको दिगो फाइदा लिन सहुलियत ऋण र परियोजना मोडालिटीमा विस्तृत छलफल गर्नुपर्ने धारणा राखे ।
सावतीका अध्यक्ष पोषराज पाण्डेले कुनै पनि छिमेकीसँग निर्भर नहुने गरी द्विपक्षीय वार्तामा नेपालले आफ्नो रणनीतिक स्वतन्त्रता कायम राख्नुपर्नेमा जोड दिए ।




