Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । भूकम्पबाट प्रभावित राजधानीका विद्यालयहरूको पुनर्निर्माणमा समस्या परेको छ । स्थानीयवासीको असहयोग, दिउँसोको समयमा सामग्री ढुवानी गर्न नमिल्नुजस्ता कारणले गर्दा अपेक्षाकृत ढङ्गमा पुनर्निर्माण गर्न नसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
यसका कारण चक्रपथभित्रका मात्रै १३ विद्यालयहरू प्रभावित भइरहेको प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सीएलपीआईयू–शिक्षा)का इञ्जिनीयर उद्धव नेपालले बताए । शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)द्वारा सोमवार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । राजधानीको केन्द्रमा रहेका दरबार हाइस्कूल तथा असन क्षेत्रका विद्यालयको पुनर्निर्माणका लागि आवश्यक सामग्रीको भण्डारणका लागि भने खुलामञ्चमा व्यवस्था मिलाइएको छ ।
सामान्य अवस्थामा लागू हुने सार्वजनिक खरीद ऐनअनुरूप काम गर्नु परेका कारण पुनर्निर्माणको काम ढिलो भइरहेको सीएलपीआईयू–शिक्षाका आयोजना निर्देशक इमनारायण श्रेष्ठले बताए । ‘भूकम्पपछिको ३ वर्षभित्र सक्ने भनेको विद्यालय पुनर्निर्माणको काम नसकिनुमा सामान्य अवस्थामा लागू हुने नीतिनियममा टेकेर काम गर्नुपर्नाले पनि हो,’ उनले भने, ‘यदि अवस्था असामान्य हो भने ऐन तथा कार्यविधि पनि सोहीअनुसार हुनुपर्ने हो ।’ बजेटको अभाव नभए थपिएको २ वर्षभित्रमा विद्यालय पुनर्निर्माण सकिने उनको भनाइ छ ।
बजेटको अपर्याप्तता
भूकम्प प्रभावित जिल्लाका करीब २ हजार ओटा विद्यालय पुनर्निर्माणका लागि शिक्षा विभागमार्फत आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्ममा गरी करीब रू. ९ अर्ब निकासा भएको छ । विभागमार्फत गएको उक्त अनुदान रकम विद्यालय व्यवस्थापन समितिहरूलाई उपलब्ध गराइएको हो ।
निर्माण व्यवसायी र गैरसरकारी संस्थामार्फत गरिएको पुनर्निर्माणका लागि हालसम्म करीब रू. ७१ अर्ब बजेट आएको छ । उक्त बजेटको ५० प्रतिशत खर्च भइसक्दा पुनर्निर्माण भने करीब ३९ प्रतिशत मात्रै सकिएको छ । अब रू. २४ अर्ब थप भए विद्यालय पुनर्निर्माण सकिने निर्देशक श्रेष्ठ बताउँछन् ।




