६ दिनका लागि प्रधानमन्त्री चीन प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल
असार ५ काठमाडौं (अस) । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि मङ्गलवार त्यसतर्फ प्रस्थान गरेका छन् । १ सय १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै प्रधानमन्त्री ओली हिमालय एयर मार्फत चीन प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा–जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, सरकारका सचिव, निजी क्षेत्रका प्रतिनिधि र पत्रकार भ्रमणमा सहभागी छन् । प्रधानमन्त्री सहितको भ्रमण टोली असार १० गते स्वदेश फर्कने कार्यक्रम छ । कार्यबाहक प्रधानमन्त्री पोखरेल, माधव नेपाल पार्टीको कार्यबाहक अध्यक्ष प्रधानमन्त्री ओलीले आफू चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहेकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed