असार ५, काठमाडौं (अस) । विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमवार स्वीडेन, बेल्जियम र इङ्ल्याण्ड विजयी भएका छन् ।
स्वीडेनको पेनाल्टी गोल निर्णायक
पहिलो खेलमा स्वीडेनले दक्षिण कोरियालाई १–० ले पराजित गर्यो । रुसको निज्नी नोभोगोरोट रङ्गशालामा खेल शुरु भएको ६४औं मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो । खेलको निर्धारित समयसम्म दुबै टोलीबाट थप गोल हुन नसकेपछि सोही गोल निर्णायक हुन पुग्यो । पहिलो जितसँगै स्वीडेनले ३ अङ्क जोडेको छ । कोरियाली खेलाडीहरुले पटक पटक पाएको निकै राम्रा मौकाहरूलाई उपयोग गर्न असफल रहे ।
आफ्नो पहिलो विश्वकपको पहिलो खेलमा पानामा स्तब्ध
दोस्रो खेलमा समूह ‘जी’ अन्तर्गत बेल्जियमले पानामालाई ३–० गोलअन्तरले पराजित गर्यो । पहिलो पटक विश्वकपमा सहभागी पानामाले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफको शुरुआतमै बेल्जियमले पहिलो गोल गर्दै अग्रता लिएपछि पानामा दबाबमा परेको थियो । त्यसपछि बराबरी गोल फर्काउने प्रयासमा रहेको पानामालाई रोक्दै बेल्जियमले ६९ र ७५औँ मिनेटमा लगातार थप दुई गोल ग¥यो । पानामाले कुनै पनि गोल फर्काउन नसकेपछि विश्वकपको पहिलो खेलमा ३–० को पराजय बेहोरेको छ ।
बराबरीमा रोक्न ट्युनिसिया असफल
तेस्रो खेलमा विश्व विजेता इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गर्यो । खेलको ११औँ मिनेटमा ह्यारी केनको गोलमार्फत अग्रता लिएको इङ्ल्याण्डविरुद्ध ३५औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ट्युनिसियाका फ्रेजानी ससीले खेल बराबरीमा ल्याए । दोस्रो हाफमा ट्युनिसियाले थुप्रै अवसरहरु बनाए पनि गोल भने गर्न सकेन । निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएको खेलमा थपिएको पहिलो मिनेटमा इङ्ल्याण्डका केनले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई २–० को जित दिलाए ।




