काठमाडौं । नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नै लगानीमा रेलमार्ग विकास गर्न नसक्ने भन्दै उनले रेलमार्ग तथा रेल ल्याउन लाग्ने ऋण पनि तिर्न नसक्ने दाबी गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको उपलब्धि समीक्षा गर्न शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा क्रममा उनले भने, ‘नेपालले आफै रेल निर्माण गर्न सक्दैन, हाम्रा आफ्नै आन्तरिक आवश्यकताहरू धेरै छन् । ती आवश्यकताहरू पूर्ति गर्न नै हामीलाई अहिले धौ–धौ छ । यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन, बनाए चिनियाँ अनुदानमा बनाउने हो, ऋणमा त हामीले बनाउन सक्दैनौं ।’
कार्यक्रममा महतले ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरू केही पनि नभएको जिकिर गरे । उनले भने, ‘रेलको सम्झौता नयाँ होइन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड इनिसिएसशनमार्फत सम्झौता गरेको थिएँ ।’ उनले नेपालमा रेल आउनु राम्रो विषय भए पनि कसरी आउँछ भन्ने मुख्य चासोको विषय रहेको टिप्पणी गरे । उनले भने, ‘यसका लागि लगानी ठूलो लाग्छ, झण्डैझण्डै हाम्रो नेपालको एक वर्षको पूँजीगत खर्चभन्दा धेरै लाग्छ, त्यसैले हामीले अहिले आन्तरिक प्राथमिकताहरूमा नै बढी जोड दिनुपर्छ ।’
दुवै छिमेकी मित्रराष्ट्र भारत र चीन आर्थिक रूपमा सक्षम भएकोले नेपालजस्तो मित्रराष्ट्रलाई रेल ल्याएर गिफ्ट गर्नुपर्ने उनको भनाइ छ । ‘विद्युत्मा लगानी, ट्रान्समिशन लाइन निर्माणबारे भएको सहमतिप्रति परियोजना अनुदान, ऋण वा के मा बन्ने हो ? र विद्युत् खरीद तथा विक्री सम्झौता कस्तो हुने हो ? त्यसमा कुनै ठोस प्रतिबद्धता आउन सकेको छैन,’ उनले भने । उनले पेट्रोलियम भण्डारण, कोदारी राजमार्ग खुलाउने विषयमा पनि ठोस निर्णय नआएको बताए ।










