राजनीतिज्ञको व्यवसाय –नारायणी देवकोटा
”समय सन्तुलन” – जिपछिरिङ लामा
अध्यक्ष तथा प्रबन्ध निर्देशक
लामा कन्ष्ट्रक्सन कम्पनी
२०३६ सालको जनमतसङ्ग्रहको समयमा जिपछिरिङ लामाले भर्खर निर्माण व्यवसायमा हात हालेका थिए । उनले पहिलोपटक पाएको ठूलो निर्माणको ठेक्का थियो- गोरखा-नारायणघाट सडकखण्डको निर्माण । त्यसबेला मुलुकभर बहुदलीय आन्दोलनले गति लिइरहेको थियो । काङ्ग्रेस र कम्युनिष्टहरूका ठूला सभासम्मेलनहरू भइरहेका थिए । विस्तारै तात्दै गएको राजनीतिक वातावरणले लामा पनि राजनीतितर्फ तानिइरहेका थिए । पहिला त उनलाई जुलुस तथा आमसभाहरूमा देखिने भीडले आकर्षित गरेको थियो । बहुदल आएमा निर्माण व्यवसायको विस्तार तीव्र हुनेछ भन्ने जानकारीले पनि आफूलाई राजनीतिप्रतिको आकर्षण बढेको बताउँछन् उनी । बहुदल आएपछि देशमा निर्माणका काम तीव्र हुन्छन् भन्ने कुराले उनलाई आफूले पनि केही गर्नुपर्छ भन्ने लागेको थियो ।
२०३६ सालको आन्दोलबाट राजनीतिमा प्रवेश गरेका लामा अहिले गणतान्त्रिक नेपालको संविधान लेख्ने जिम्मेवारी पाएका ६०१ सभासद्मध्येका एक हुन् । नेपाली काङ्ग्रेस देशकै ठूलो पार्टी भएका बेलामा उनी त्यसको केन्द्रीय सदस्य थिए । काङ्ग्रेसको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य मनोनीत भएका लामा दशौं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य थिए । भर्खरै सम्पन्न एघारौं महाधिवेशनमा भने उनी केही मतले पछाडि परे ।
दोलखामा जन्मेहुर्केका लामाका बाबुआमा न त राजनीति जान्दथे न त निर्माण व्यवसाय नै । लामा भन्छन्, ‘बा-आमा त भेंडा र चौरी पाल्थे । तिनैलाई चराउँथे, बेच्थे ।’ राजनीति र व्यवसाय दुवै आफ्नै रहरले गरेको बताउँछन् उनी । सात कक्षासम्म पढेका लामालाई धेरै पढेका भनिने नेताले कुनै काममा ‘म त राजनीतिले गर्दा गर्न नै भ्याउँदिनँ’ भनेको सुन्दा व्यवस्थापन पढ्ने विषयभन्दा पनि व्यवहारमा लागू गर्ने विषय हो भन्ने लाग्छ । उनी भन्छन्, ‘नेताहरू फुर्सद हुँदैन भन्छन् । तर, राजनीति र कामलाई कसरी व्यवस्थापन गर्ने भनेर सोच्दैनन् ।’
हुन त लामा सानै उमेरबाट साथीभाइको झगडा मिलाउने, कुनै साथीले अर्कोलाई हेपेको देखे भने विरोध गर्ने गर्थे । लामालाई सानो हुँदाको त्यही बानी अहिले ठूलो भएपछि पनि आफूले समाज र राष्ट्रका लागि केही गर्ने प्रेरणामा परिणत भएजस्तो लाग्छ । अरूलाई मद्दत गर्नु अहिले त उनको बानी नै भइसक्यो । उनी भन्छन्, ‘त्यही भएर राजनीतितर्फ तानिएहुँला ।’ निर्माण व्यवसाय गर्ने र राम्रै आम्दानी गर्ने भए पनि लामाले अनावश्यक रूपमा पार्टीलाई पैसा भने दिने रहेनछन् । उनी भन्छन्, ‘आफूले मेहनत गरेर कमाएको पैसा किन दिने ? कहिलेकाहीँ काम परे दिन्छु नत्र दिन्न ।’ पछिल्लो पटक उनले पार्टीले महाधिवेशनमा र बीपी भवन बनाउँदा पार्टीलाई केही रुपैयाँ सहयोग गरेको बताए ।
राजनीति र व्यवसायलाई एक साथ अगाडि बढाएका लामाको संलग्नतामा निर्माण भएका आयोजनामा सेती जलविद्युत् आयोजना, पोखरा बाग्लुङ सडक खण्ड, पश्चिमाञ्चल वनविज्ञान अध्ययन संस्थान पोखराका भवनहरू, वागमती सिँचाइ आयोजना, निर्माणाधीन मेलम्ची खानेपानी योजनालगायत रहेका छन् । मेलम्ची योजनाको काम ढिला भएको निहुँ बनाएर शाही सरकारका पालामा उनलाई जेल पनि हालियो । लामा भन्छन्, ‘सरकारलाई निहुँ चाहिएको थियो नभएको मुद्दा बनाएर थुन्न लगायो ।’ आफूले निर्माण गरेको कामको लामो विवरण भएको बताउँछन् लामा भन्छन्, ‘मैले गरेका निर्माणका ठाउँहरू मात्र बताउँदा पनि
३ घण्टा लाग्छ ।’ गणतन्त्र आएपछिको नेपालमा निर्माणका ठूला आयोजना निकै कम शुरू भएको बताउँछन् लामा । ‘सानातिना’ कामबाट भए पनि गतवर्षको १५ करोड रुपैयाँबराबरको काम भएको अनुमान उनले गरेका छन् ।
समाजमा राजनीतिज्ञहरू बदनाम छन् कुर्सीका लागि । नेताहरू राजनीति गर्नकै लागि भ्रष्टाचार र भ्रष्टाचार गर्नकै लागि राजनीति गर्छन् भन्ने आमधारणा रहेको छ । लामा भन्छन्, ‘नेताहरू जीवनभरि राजनीति मात्र भनेर दौडिरहन्छन् । उनीहरूले राजनीतिसँगै आफ्नो व्यापार व्यवसाय पनि गर्ने हो भने भ्रष्टाचार कम हुन्छ ।’ तर, भ्रष्टाचार नगरेर पनि राजनीति गर्न सकिन्छ भन्ने उनको धारणा छ । लामा भन्छन्, ‘साँच्चिकै राम्रो नेता हुने हो भने राजनीति र व्यवसायलाई सँगै अगाडि लैजानुपर्छ र लैजान सकिन्छ । आफ्नो व्यापार व्यवसाय गर्ने कुनै पनि मानिस मुलुकको राष्ट्रपति, प्रधानमन्त्री हुन सक्छ ।’
काङ्ग्रेस सरकारमा सहभागी हुँदैनः कोइराला
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले एमाले नेतृत्वको सरकारमा काङ्ग्रेस सहभागी नहुने बताएका छन् । शुक्रवार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति कोइरालाले यस्तो बताएका हुन् । सरकारबाहिर नै रहेर लोकतन्त्र र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन भूमिका खेल्ने उनको भनाइ थियो । ‘काङ्ग्रेस सत्ताभोगी छैन, सत्ताबाहिर रहेर पनि हामी लोकतन्त्र र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सक्छौं,’ उनले भने । शान्ति र संविधानका लागि काङ्ग्रेसले कुनै पनि सम्झौता नगर्ने उनको भनाइ छ ।
माग सम्बोधन भए सरकारमा जान्छौं: यादव
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेद्र यादवले संविधान निर्माण, शान्तिप्रक्रिया र मधेशका मुद्दामा सम्बोधन भए आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले त्यस्तो बताएका हुन् । कार्यक्रममा उनले सबै दललाई मिलाएर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह गरेका थिए । ‘ सिंहदरबारमा थप एउटा प्रधानमन्त्रीको फोटो मात्र झुण्डयाउनुको कुनै अर्थ हुँदैन, समयमा संविधान बनाउने हो भने सबै दललाई मिलाएर लैजानुको विकल्प छैन,’ उनले भने ।
मधेशवादी तीन दल सरकारमा नजाने
संयुक्त मधेशी मोर्चामा आबद्ध तीन दल झलनाथ खनालको नेतृत्वको सरकारमा नजाने भएका छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई-मधेश लोकतान्त्रिक पार्टी सद्भावना पार्टी सरकारमा नजाने भएका हुन् । ती दलले शुक्रवार सद्भावना पार्टीले कार्यालयमा बैठक बसेर यस्तो निर्णय गरेका हुन् ।
सानो मन्त्रिमण्डल बनाउँछुः खनाल
नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले योग्य र सक्षम व्यक्तिहरूको सानो मन्त्रिमण्डल बनाउने बताएका छन् । शुक्रवार उनलाई बधाई दिन उनकै निवास डल्लु पुगेका पत्रकारको टोलीलाई खनालले त्यस्तो बताएका हुन् । देशमा व्याप्त अराजकतालाई अन्त्य गर्न कदम चाल्ने उनको भनाइ थियो । ‘मुलुकमा व्याप्त अराजकतालाई अन्त्य गर्दै समयमा संविधान बनाउने र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउनु मेरो लक्ष्य हो,’ उनले भने । भेटका क्रममा उनले आफ्नो सरकारलाई वाम गठबन्धनको सरकारका रूपमा नबुझ्न आग्रह गर्दै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।











