फूटबल खेलप्रेमीका लागि उत्सवका रूपमा रहेको फिफा विश्वकपको २१औं संस्करणको प्रारम्भिक चरण सकिनै लागेको छ । आआफ्नो राष्ट्रको गौरवका लागि खेलिने यो खेल अर्बौं मानिसले हेरिरहेका छन् । विश्वकप फूटबल टुर्नामेण्टलाई सबैभन्दा आकर्षक र महँगो खेलका रूपमा लिइन्छ । विश्वकपको संस्थागत नेता फिफाले हरेक ४ वर्षमा आयोजना हुने यस खेलबाट अर्बाैं डलर आम्दानी गर्छ भने आयोजक राष्ट्रले १० अर्ब डलर वा सोभन्दा बढी रकमको बिल तिर्छ ।
रूसको ११ ओटा शहरमा विश्वकप २०१८ को आयोजना भइरहेको छ । आगामी जुलाई १५ मा यसको विजेता पनि हामीले थाहा पाइहाल्छौं । यस प्रतियोगिताका लागि रूसमा भएको निर्माण कार्य र तयारीमा ११ अर्ब ८० करोड डलर खर्च भएको अनुमान छ । यस रकममध्ये ७० प्रतिशत खर्च सार्वजनिक क्षेत्रबाट हुने बताइएको छ । यस प्रतियोगिताको विजयी टीमले ३ करोड ८० लाख डलर पाउँछन् भने हरेक सहभागी टीमलाई ८० लाख डलर दिइन्छ । यससँगै विश्वकप कसले जित्ला भन्ने कुराको अड्कलबाजीले पनि बजार तताएको छ । यूबीएस, गोल्डम्यान स्याक्सलगायत केही बैङ्कको त यसमा होडबाजी नै चलेको छ ।
विश्वकप २०१४ मा ब्राजिल नेदरल्याण्डबाट पराजित भएको थियो र जर्मनीले उपाधि चुमेको थियो । यो वर्ष ब्राजिलले अघिल्लो हारको बदला लिँदै फाइनलमा जर्मनीलाई पराजित पारेर ट्रफी घर लैजाने अमेरिकी बहुराष्ट्रिय लगानी बैङ्क गोल्डम्यान स्याक्सले अनुमान गरेको छ । त्यस्तै, स्वीस बैङ्क यूबीएसले यो वर्ष जर्मनीले उपाधि जित्ने अनुमान गरेको छ । उसले ब्राजिल दोस्रो स्थान र स्पेन तेस्रो स्थानमा आउने अनुमान गरेको छ ।
के हो फिफा ?
अधिकांश अन्तरराष्ट्रिय फूटबल टुर्नामेण्टको सञ्चालक फिफा सन् १९०० को शुरुआतमा स्थापना भएको हो । २०औं शताब्दीमा फूटबलको लोकप्रियता र यसबाट हुने आम्दानीमा वृद्घि भएसँगै फूटबलको निगरानीका लागि एकल एकाइको व्यवस्था गर्ने उद्देश्यले यसको स्थापना भएको हो ।
हरेक वर्ष लाखौं डलरको आम्दानी गर्ने भए पनि फिफा गैरनाफामूलक संस्थाका रूपमा उभिएको छ । सन् २०१५ मा फिफाका उच्च अधिकारीहरूविरुद्ध भ्रष्टाचार र घुसखोरीको आरोप लागेपछि विश्वकप २०१८ मा फिफाले उच्च अनुसन्धानको सामना गरिरहेको छ । अमेरिकाको न्याय मन्त्रालयले ४१ जना फिफा अधिकारी, सरकारी नेतालगायत अधिकारीहरूमाथि आरोप लगाएको थियो । फिफा विगत ३ वर्षदेखि अनुसन्धानको घेरामा पर्दै आएको छ । सन् २०१४ मा फिफाले आन्तरिक अनुसन्धान सकाएको थियो । तर, उसले यस अनुसन्धानको निष्कर्ष प्रतिवेदन भने सार्वजनिक गर्न चाहेन । केही अधिकारीले त यस प्रतिवेदनलाई ‘भौतिक रूपमा अपूरो’ रहेको समेत भन्न भ्याए ।
आयोजक राष्ट्रको खर्च
विश्वकपमा आयोजक राष्ट्र स्वतः यस खेलका लागि क्वालिफाई त हुन्छ, तर यसका लागि उसले ठूलो मूल्य चुकाउनुपर्छ । यसले आयोजक राष्ट्रमा ठूलो आर्थिक भार निम्त्याउँछ । विश्वकपको आयोजना गर्न चाहने राष्ट्रले फिफालाई करमा छूट दिनुपर्छ । सन् २००६ को विश्वकपको आयोजक राष्ट्र जर्मनीले फिफालाई अनुमानित २७ करोड २० लाख डलर करछूटको प्रस्ताव राखेको थियो । विश्वकपको भेन्यू करमुक्त हुुनुपर्ने र फिफाका कर्पाेरेट पार्टनरलाई आय तथा विक्रीकरबाट मुक्त गर्नुपर्ने सम्झौता हुन्छ ।
सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकपमा रङ्गशालाको निर्माण र यातायातलगायत पूर्वाधारको निर्माणमा १५ अर्ब डलर खर्च भएको थियो । त्यतिबेला मेन गारिञ्चा रङ्गशालाको निर्माणमा सबैभन्दा बढी अर्थात् ५५ करोड डलर खर्च भएको थियो । तर, टुर्नामेण्ट सकिएपछि केही थोरै कार्यक्रममात्र त्यहाँ सम्पन्न गरिए भने हाल त्यो रङ्गशाला बसपार्क बनेको छ ।
रूसले सन् २०१४ मा सोचीमा भएको विण्टर ओलम्पिक्समा ५१ अर्ब डलर खर्च गरेको थियो । अहिलेको विश्वकपमा उसले त्यति रकम त खर्च गर्दैन होला, तर लागत भने बढ्ने क्रममै छ । पछिल्लो तथ्याङ्कअनुसार हालसम्म उसले विश्वकपलाई भनेर झण्डै १२ अर्ब डलर खर्च गरिसकेको छ । यो विश्वकपले रूसी अर्थतन्त्रमा २६ अर्बदेखि ३१ अर्ब डलरसम्म थप्ने अधिकारीहरूले अनुमान गरेका छन् । विश्वकपको तयारीले अहिलेसम्म रूसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करीब १ प्रतिशत अर्थात् १४ अर्ब डलर र २ लाख २० हजार रोजगारी पनि थपिएको बताइएको छ । यद्यपि, विश्वकपले अर्थतन्त्रमा दिएको योगदानलाई कसरी मापन गरिएको छ भन्नेबारे अधिकारीले केही पनि खुलाएका छैनन् ।
अहिलेको विश्वकपबाट फिफाले ६ अर्ब डलर कमाउने अनुमान छ । यो सन् २०१४ को आम्दानीको तुलनामा २५ प्रतिशत धेरै हो । यसअघिको विश्वकपमा फिफाले ४ अर्ब ८० करोड डलर कमाएको थियो । यसमा संस्थाको नाफा २ अर्ब ६० करोड डलर र प्रसारण आम्दानी २ अर्ब ४३ करोड डलर थियो । त्यस्तै, प्रायोेजन र टिकट विक्रीबाट क्रमशः १ अर्ब ६० करोड डलर र ५२ करोड ७० लाख डलर कमाइ भएको थियो । विश्वकप २०१८ ३ अर्ब २० करोड मानिसले हेर्ने अनुमान गरिएकाले यसपटकको ब्रोडकाष्ट आम्दानी ३ अर्ब डलरमा उक्लिन सक्ने बताइएको छ ।
प्रस्तुति : अस्मिता ढकाल




