Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतीजामा त्रुटि भएको स्वीकार गरेको छ । पनिका र राष्ट्रिय परीक्षा बोर्डले सफ्टवेयरको गल्तीले जीपीएको गणनामा त्रुटि भएको भन्दै बचाउ गरेका छन् ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्राविधिक कमजोरीले परीक्षाको नतीजा प्रकाशनमा त्रुटि भएको यो नै पहिलो नभएकोले यसलाई ठूलो मान्न नहुने तर्क गरे । नेपाल शिक्षा पत्रकार समूहले एसईई नतीजामा भएको लापरबाहीबारे सरोकारवालासँग मङ्गलवार गरेको अन्तरक्रियामा पौडेलले यस्तो तर्क गरेका हुन् ।
उनका अनुसार सफ्टवेयरको नयाँ भर्सनको कमाण्ड हुनुपर्नेमा पुरानो भर्सनको कमाण्ड प्रयोग भएकाले यस्तो त्रुटि देखिएको हो । ‘सबै नम्बरमा त्रुटि होइन, विषयगत आधारमा ९०, ८०, ७०, ६०, ५०, ४० प्रतिशतको ग्रेडिङ तथा जीपीएमा एक नम्बर कम भएकाले समस्या देखिएको हो । यस्तो त्रुटिमा विद्यार्थीको नम्बर घटेको छैन, बरू त्रुटि सच्चिएर आउँदा बढेको छ,’ उनले भने ।
उनले नयाँ इञ्जिनीयर अनुभवी नभएको भन्दै त्रुटिको बचाउ गरे । नतीजाको प्राविधिक कार्य गर्दै आएका इञ्जिनीयर अनुप न्यौपानेको सरुवाले गर्दा काममा केही अप्ठ्यारो परेको उनको भनाइ थियो । पाठ्यक्रम विकास केन्द्रका प्राविधिक नसिव आचार्यमार्फत कार्यालयले प्राविधिक काम गराएपछि यस्तो समस्या भएको उनले बताए ।
एसईईको नतीजा सार्वजनिक भएको २४ घण्टापछि परीक्षा नियन्त्रण कार्यालयले नतीजामा त्रुटि भएको तथ्य बाहिर ल्याएको थियो । वर्षाैंदेखि परीक्षासम्बन्धी जिम्मेवारी बहन गर्दै आएको निकायबाट भएको यो त्रुटिलाई सामान्य मान्न नसकिने सरोकारवालाको भनाइ छ । परीक्षा बोर्ड तथा पनिकाले गल्ती दोहोरिन नदिन बेलैमा जनशक्ति जुटाउनुपर्ने वा नतीजाबारे समय थप गरेर ३–४ दिनपछि सार्वजनिक गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।
छानबिन शुरू
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईको नतीजा प्रकाशनमा भएको त्रुटिको वास्तविकता पत्ता लगाउन सोमवार छानबिन समिति गठन गरेको छ । समितिले अहिले छानबिन गरिरहेको र ५ दिनभित्र छानबिन प्रतिवेदन पेश गर्ने बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए । ‘छानबिनबाट निस्किएको निष्कर्षअनुसार हामी कारबाही भोग्न तयार छौं,’ उनले भने ।





One Comment
रोशन साउद
छानबिन राम्रोसँग हुनुप्रयो विद्यार्थीको चित्त बुझियको छैन महोदय