काठमाडौं (अस) । हकप्रद र बोनस शेयरमा पूँजीगत लाभकर गणनाको विषयमा देखिएको अन्योल हटाउन छलफल जारी रहेकाले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको गठित समितिले बताएको छ । १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्न जेठ २२ गते अर्थ मन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति गठन भएको थियो । संयोजक खत्रीले लाभकर गणनाका विषयमा केही निकायसँग छलफल बाँकी रहेकाले अध्ययन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको बताए । उनले केही दिनमै प्रतिवेदन सार्वजनिक हुने जानकारी पनि दिए । सबै लगानीकर्ताको हितमा निर्णय हुनुपर्छ भनेर यसबारे गहन छलफल भइरहेको उनको भनाइ छ ।
आन्तरिक राजस्व विभागले जेठ २० गतेदेखि नै बोनस र हकप्रद शेयरमा अङ्कित मूल्यको आधारमा अग्रिम पूँजीगत लाभकर असुल गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई जेठ १८ गते निर्देशन दिएको थियो । उक्त निर्देशनपछि घाटामा कर नतिर्ने भन्दै लगानीकर्ताले कारोबार नै ठप्प पारेर आन्दोलन गरेपछि लाभकर गणनाको विषयमा थप अध्ययन गर्न समिति गठन भएको हो ।
अर्थ मन्त्रालय र लगानीकर्ताबीचको छलफलमा लाभकर गणनाको विषयमा अर्को निर्णय नभएसम्म तत्काल पुरानै विधिबाट गणना गर्ने सहमति भएको थियो ।
धितोपत्र कारोबारमा बोनस र हकप्रद शेयरमा आधार मूल्यको आधारमा लाभकर गणना हुँदैआएको छ । लगानीकर्ताले हकप्रद र बोनस शेयर नेप्सेमा समायोजन हुँदा निर्धारण गरिएको कम्पनीको औसत आधार मूल्यभन्दा बढीमा शेयर विक्री गर्दाको अवस्थामा भएको आम्दानीको आधारमा पूँजीगत लाभकर तिर्दै आएका छन् । आगामी आर्थिक वर्षदेखि सरकारले पूँजीगत लाभकरको भार बढाएको अवस्थामा बोनस र हकप्रद शेयरमा लाभकर गणना विधि घाटामा कर तिर्ने खालको लागू नहोस् भन्ने माग लगानीकर्ताको छ ।




