साइबर अपराध बढ्यो

काठमाडौं (अस) । काठमाडौं उपत्यकामा साइबर अपराधका घटना बढ्न थालेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखाका अनुसार चालू आको गत वैशाखसम्ममा साइबर अपराधका १ हजार १ सय ७६ घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबूक, ईमेल, ट्वीटर, यूट्यूब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् । चालू आवको १० महीनामा साइबर अपराधअन्तर्गत ५४ जनालाई मुद्दा चलाइएको छ । ‘विभिन्न सामाजिक सञ्जालमा ३७, अन्य व्यक्तिको पासवर्ड ह्याकिङ गर्ने दुई, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने ११, एसएमएस गरेर चिठ्ठा प¥यो भनेर ठगी गर्ने तीन र यूट्यूबमा अनावश्यक विषयवस्तु राखेर चरित्र हत्या गर्ने दुईजनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखा, टेकुले उल्लेख गरेको छ । साइबर अपराधमा लाग्नेमध्ये सबैभन्दा धेरै व्यक्ति १२ वर्षदेखि ४५ वर्षसम्मका रहेको पनि बताइएको छ । महाशाखाका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ३ सय ५, आव २०७२/७३ मा ८ सय ३० र आव २०७३/७४ मा एक हजार १ सय ९७ मुद्दा महाशाखामा दर्ता भएका थिए ।