प्रमुख गतिविधि
बैङ्कमा सरकारको कायम रहेको स्वामित्व ६२ प्रतिशतबाट घटाएर ५१ प्रतिशत कायम हुनेगरी थप १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ गत असार १५ गतेदेखि विक्री खुला गरेको छ । बैङ्कले उक्त एफपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- बैङ्कले चालू आवको तेस्रो त्रैमाससम्ममा २ अर्ब ५६ करोड खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २ प्रतिशतले बढी रहेको छ ।
- पूँजी वृद्धिसँगै बैङ्कको प्रतिशेयर आम्दानी घट्न पुगेको छ । यो अवधिमा पूँजी ८ प्रतिशतले वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी (वार्षिकीकरण) ४४ रुपैयाँ ९७ पैसाबाट घटेर ४२ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
- बैङ्कले जगेडा कोषमा ५ अर्ब ९७ करोड रुपैयाँ सञ्चित गरी जगेडा कोष मजबुत बनाउँदै लगेको देखिन्छ । गत वर्षको यसै अवधिको तुलनामा जगेडा कोष ११६ प्रतिशतले बढी हो ।
- निक्षेप र कर्जाको सन्दर्भमा बैङ्कले यो त्रैमासमा ९० अर्ब ८१ करोड निक्षेप उठाई ७९ अर्ब ७० करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।
- निक्षेप ८ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ७ प्रतिशतले वृद्धि भएको छ ।
- बैङ्कको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी १३ प्रतिशतले वृद्धि भएर ४ अर्ब ५९ करोड पुगेको छ, जसमा बैङ्कले २६ करोड ३६ लाख रुपैयाँ खराब कर्जालाई प्रोभिजनका लागि छुट्याएको छ । जोखीम कोषबाट ३१ करोड ८९ लाख रुपैयाँ फिर्ता भएको देखिन्छ ।
- बैङ्कको सञ्चालन नाफा ४२ प्रतिशतले वृद्धि भएर ३ अर्ब ११ करोड पुगेको छ ।
- निष्क्रिय कर्जा थोरै मात्रामा वृद्धि भई २ दशमलव ९१ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जाका लागि बैङ्कले १०८ दशमलव ७७ प्रतिशत रकम व्यवस्था गरेको छ ।
- बैङ्कको सीसीडी रेसियो ७६ दशमलव ४८ प्रतिशत रहेको छ । जसले गर्दा बैङ्कलाई आउँदा दिनमा कर्जा विस्तार गर्न सहज हुने देखिन्छ ।
- बैङ्कको कोषको लागत १ दशमलव ९१ प्रतिशतबाट वृद्धि भएर २ दशमलव ९७ प्रतिशत पुगेको छ भने आधार ब्याजदर ७ दशमलव ११ प्रतिशत रहेको छ ।
- बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार बैङ्कको प्रतिशेयर नेटवर्थ १ सय ७४ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात २० दशमलव १० प्रतिशत रहेको छ ।
निष्कर्ष
समीक्षा अवधिमा बैङ्कले निक्षेप र कर्जामा सामान्य रूपमा कर्जा विस्तार गर्दा पनि उल्लेखनीय रूपमा खुद ब्याज आम्दानी वृद्धि गर्न सफल भएको छ । गत केही वर्षमा सम्पत्ति तथा विभिन्न कम्पनीको शेयर विक्री गरी मुनाफा बढाएको बैङ्कले अहिले भने नियमित कारोबारबाट थोरै भए पनि मुनाफा वृद्धि गर्न सक्नु उसको सफलता रहेको छ ।
प्राविधिक विश्लेषण : नेपाल बैङ्कको ५ दिने मुभिङ एभरेज तल

प्रतिरोध २ : ३३० । प्रतिरोध १ : ३१५ । अन्तिम कारोबार मूल्य : २८४ । टेवा १ : ३०५ । टेवा २ : २९०
बजारको अवस्था
समग्र नेप्से परिसूचकसँगै घट्दो प्रवृत्तिमा रहेको नेपाल बैङ्कको शेयर ३ सय ५ रुपैयाँको मूल्यमा टेवा लिँदै बढ्ने कोसिस गरेको देखिन्छ । सोमवार यस बैङ्कको शेयर मूल्य ८ रुपैयाँ अर्थात् २ दशमलव ७४ प्रतिशतले घटेर २ सय ८४ रुपैयाँमा बन्द भएको छ भने १८ हजार ३ सय २७ कित्ता शेयर कारोबार भएको छ ।
मुभिङ एभरेज
५ दिने मुभिङ एभरेज र २१ दिने मुभिङ एभरेजअनुसार यस बैङ्कको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको छ । करीब ३ साताअघि डेड क्रस देखिएको थियो, त्यसलगत्तै यस बैङ्कको शेयर घट्दो प्रवृत्तिमा रहँदै आएको हो । गोल्डेन क्रस देखिन भने समय लाग्ने देखिन्छ ।
एटीआर
एटीआर सूचक घट्दो प्रवृत्तिमा रहेको हुनाले उतारचढाव घट्दै आएको सङ्केत गरेको छ ।
स्टोकाष्टिक
स्टोकाष्टिक सूचक ओभरसोल्ड क्षेत्रमा रहेको छ, जसले शेयरमा विक्रेताको चाप उच्च रहेको सङ्केत गरेको छ ।
ओबीभी
ओबीभी सूचक घट्दो प्रवृत्तिमा रहेको छ, जसले शेयरमूल्यसँगै कारोबार पनि घटेको सङ्केत गरेको छ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकहरूले यस बैङ्कको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको सङ्केत गरेको हुनाले घट्दो प्रवृत्तिमा रहने सभावना उच्च रहेको छ ।




