जेफ्री डी साक्स
उन्नाइसौँ शताब्दीको पछिल्लो समयमा अमेरिकामा ‘सुनको जलप लागेको युग’ (गिल्डेड एज) थियो र त्यस युगका व्यापक असमानता तथा भ्रष्टाचारसँगै ‘डाँका धनाढ्य’(रबर ब्यारोन)हरू उदय भएका थिए, उनीहरूले नयाँ ठूला उद्योग स्थापना गरेका थिए ।
‘रेगन क्रान्ति’का चार प्रमुख भाग थिए : १. धनीका लागि कर कटौती, २. शिक्षा, भौतिक पूर्वाधार, ऊर्जा, मौसम परिवर्तन तथा रोजगारीसम्बन्धी तालीममा भएको खर्चमा कटौती, ३. प्रतिरक्षा खर्चमा व्यापक वृद्धि तथा ४. सैनिक अखडा तथा कारागार सञ्चालनजस्ता सरकारका प्रमुख कार्यको समेत निजीकरणका साथमा आर्थिक खुलापन ।
‘सरकार हाम्रा समस्याको समाधान होइन । सरकार नै समस्या हो’ भन्ने लोकप्रिय घोषणाका साथ सन् १९८१ मा रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति भए । यसको ३२ वर्ष तथा चारओटा राष्ट्रपतिपछि बाराक ओबामाले राष्ट्रपति पदको दोस्रो कार्यकाल आरम्भको भाषणमा अमेरिका तथा विश्वका अन्य सरकारका लागि सबैभन्दा अगाडि समाधान गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्न सरकारको ठूलो भूमिका भएको तर्कलाई अघि सारे । यसले अघिल्लो युगको अन्त्य गरेको जस्तो देखाउँछ ।
सन् १९८१ मा रेगनको भाषण असाधारण थियो । त्यसले अमेरिकी नयाँ राष्ट्रपति समाजको समस्या समाधान गर्न सरकार प्रयोग गर्न कमै इच्छुक थिए भन्ने सङ्केत गथ्र्यो र उनले प्रमुख रूपमा धनीको फाइदाका लागि कर कटौती गर्ने सङ्केत गरे । त्यो भन्दा पनि महत्वपूर्ण रूपमा उनको सरकारले गरीबी, वातावरण तथा विज्ञान र प्रविधिविरुद्ध राजनीतिक दक्षिणपन्थी क्रान्ति आरम्भ गर्यो । यो अवस्था तीन दशकसम्म कायम रह्यो र थोरै वा बढी मात्रामा उनको मार्गलाई जर्ज एचडब्ल्यू बुश, बिल क्लिण्टन, जर्ज डब्ल्यू बुश तथा केही हदसम्म ओबामाले पनि आफ्नो पहिलो कार्यकालमा अवलम्बन गरे ।
‘रेगन क्रान्ति’का चार प्रमुख भाग थिए : १. धनीका लागि कर कटौती, २. शिक्षा, भौतिक पूर्वाधार, ऊर्जा, मौसम परिवर्तन तथा रोजगारीसम्बन्धी तालीममा भएको खर्चमा कटौती, ३. प्रतिरक्षा खर्चमा व्यापक वृद्धि तथा ४. सैनिक अखडा तथा कारागार सञ्चालनजस्ता सरकारका प्रमुख कार्यको समेत निजीकरणका साथमा आर्थिक खुलापन । यसले सरकारी भूमिका कम गर्ने वचन दिएकाले यसलाई ‘स्वतन्त्र बजार’ क्रान्ति भनियो, तर अभ्यासमा यो धनीको विशेष लाभका लागि मध्यमवर्ग तथा गरीबमाथि प्रहारको आरम्भ थियो ।
यी विशेष स्वार्थ समूहमा वित्तीय तथा शेयर बजार (वाल स्ट्रीट), ठूला तेल कम्पनी तथा ठूला स्वास्थ्य बीमा कम्पनी एवम् हतियार उत्पादक पर्थे । उनीहरूले कर कटौती गर्न माग गरेका थिए र सो प्राप्त गरे, उनीहरूले वातावरणीय संरक्षण हटोस् भन्ने माग गरेका थिए र सो प्राप्त गरे, उनीहरूले श्रम सङ्गठनमाथि आक्रमण गर्ने अधिकार माग गरेका थिए, सो प्राप्त गरे, उनीहरूले अर्धसैनिक समूहको सञ्चालन गर्न पाउने समेतका फाइदाजनक सरकारी ठेक्का माग गरेका थिए र सो पनि प्राप्त गरे ।
उच्च मूल्य सकार्नेलाई राजनीतिक शक्ति दिइएको कुराको प्रभावप्रति तीन दशकभन्दा अधिक समयसम्म कसैले पनि चुनौती दिएनन् । यसबीच अमेरिका मध्यमवर्गीय समाजबाट बढ्दो रूपमा धनी र गरीबको बीचमा विभाजित समाजमा परिवर्तन हुन थाल्यो । कुनै बखत प्रमुख कार्यकारी अधिकारीहरूले एउटा सामान्य कामदारको पारिश्रमिकको तुलनामा ३० गुणा बढी पारिश्रमिक पाउँथे भने हाल २३० गुणा बढी पारिश्रमिक पाउँछन् । कुनै बखत वातावरणीय क्षतिविरुद्ध सङ्घर्षरत विश्वकै नेता भएको अमेरिका वातावरणीय परिवर्तनको वास्तविकता स्वीकार गर्ने अन्तिम प्रमुख अर्थतन्त्र बन्यो । वित्तीय खुलापनले वित्तीय तथा शेयर बजार (वाल स्ट्रीट)लाई धनी बनायो तर यसले जालसाजी, अनुचित जोखीम वहन, अक्षमता तथा संस्थाभित्रैका व्यक्तिबाट संस्थाको शेयर खरीद विक्री (इनसाइडर ट्रेडिङ)लाई बढावा दिएर विश्वव्यापी आर्थिक सङ्कट उत्पन्न गरायो ।
हुन सक्छ, ओबामाको पछिल्लो उद्घाटन भाषणले यस विनाशकारी कार्यसूचीको अन्त्य मात्र गर्ने छैन, यसले नयाँ युगकै आरम्भ पनि गर्नेछ । उनले आफ्नो सम्पूर्ण भाषण शिक्षा प्रदान गर्ने, मौसम परिवर्तनविरुद्ध सङ्घर्ष गर्ने, भौतिक पूर्वाधारको पुनर्निर्माण गर्ने, गरीब तथा अशक्तलाई ध्यान दिने र सामान्यतया भविष्यमा लगानी गर्नेजस्ता सरकारका सकारात्मक भूमिकामा केन्द्रित गरे । रेगनले सन् १९८१ मा अमेरिकालाई सरकारबाट अर्कोतर्फ मोडेपछि राष्ट्रपति पदको यो यस प्रकारको पहिलो उद्घाटन भाषण थियो ।
ओबामाको भाषणले अमेरिकामा प्रगतिशील राजनीतिको नयाँ युग आरम्भ गरायो भने त्यो अमेरिकी महान् इतिहासकार आर्थर स्लेसिङ्गर जुनियरले प्रकाश पारेको ऐतिहासिक ढाँचासँग मेल खानेछ । स्लेसिङ्गरले ‘निजी स्वार्थ’ तथा ‘सार्वजनिक उद्देश्य’ का अवधिबीच करीब ३० वर्षको अन्तराल हुने गरेको तथ्य लिपिबद्ध गरेका छन् ।
उन्नाइसौँ शताब्दीको पछिल्लो समयमा अमेरिकामा ‘सुनको जलप लागेको युग’ (गिल्डेड एज) थियो र त्यस युगका व्यापक असमानता तथा भ्रष्टाचारसँगै ‘डाँका धनाढ्य’ (रबर ब्यारोन)हरू उदय भएका थिए, उनीहरूले नयाँ ठूला उद्योग स्थापना गरेका थिए । यसपछिको ‘प्रगतिशील युग’पछि सन् १९२० को दशकमा अस्थायी रूपमा धनीहरूको शासन (प्लुटोक्र्यासी) को पुनरागमन भयो ।
त्यसपछि सन् १९३० देखि १९६० सम्म शुरूमा महामन्दी (ग्रेट डिप्रेशन), त्यसपछि फ्र्याङ्क्लिन रुजवेल्टको आर्थिक कार्यक्रम ‘न्यू डिल’ तथा प्रगतिशील राजनीतिको अर्को ३० वर्ष देखियो । सन् १९७० को दशक रेगनको युगतर्फ सङ्क्रमणको दशक थियो र त्यसपछिको ३० वर्ष शक्तिशाली व्यापारिक स्वार्थ (कर्पोरेट इण्टरेष्ट)को नेतृत्वमा अनुदारवादी राजनीतिको युग बन्यो ।
यो वास्तवमै अमेरिकामा मौसम परिवर्तनसँग सङ्घर्ष गर्ने, गरीबलाई सहयोग गर्ने, दिगो प्रविधि प्रवर्द्धन गर्ने तथा अमेरिकाको भौतिक पूर्वाधारलाई आधुनिकीकरण गर्ने सार्वजनिक उद्देश्य र सरकारी नेतृत्वको पुनर्जन्म हुनुपर्ने समय हो । ओबामाले उल्लेख गरेझैं यस्ता बलिया कदम उद्देश्यमूलक सार्वजनिक नीतिका साथ अघि बढे, त्यसबाट उत्पन्न हुने अन्वेषणमूलक विज्ञान, नयाँ प्रविधि तथा शक्तिशाली प्रदर्शनात्मक प्रभावको फाइदा विश्वका अन्य मुलुकलाई पनि पुग्नेछ ।
अमेरिकामा नयाँ प्रगतिशील युग आरम्भ भयो भनी अहिल्यै घोषणा गर्नु निकै हतार हुनेछ । निश्चय पनि कङ्ग्रेस तथा ह्वाइट हाउसभित्र पनि निहित स्वार्थ समूह अझै शक्तिशाली छन् । यी धनी समूह तथा व्यक्तिले हालैका निर्वाचन अभियानमा उम्मेदवारहरूलाई अर्बौं अमेरिकी डलरको सहयोग दिएका छन् र उनीहरूले आफूले दिएको योगदानबापत फाइदाको अपेक्षा गर्नेछन् । ३० वर्षसम्म भएको कर कटौतीले न्यून कार्बन उत्सर्जन गर्ने ऊर्जाप्रति सङ्क्रमणजस्ता प्रमुख क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत अमेरिकी सरकारसँग छैन ।
यसो भए पनि ओबामाले विवेकपूर्ण ढङ्गले चुनौती स्वीकार गरेका छन् र सरकारी सक्रियतावादको नयाँ युगका लागि आह्वान गरेका छन् । यो उनको सही कदम पनि हो । हाम्रै ‘अति’बाट पृथ्वीलाई पुग्ने हानि कम गर्ने, समाजका सबै सदस्यलाई फाइदा दिने प्रविधिको विकास सुनिश्चित गर्ने, दिगो भविष्यका लागि राष्ट्रिय रूपमा र विश्वव्यापी रूपमा हामीलाई आवश्यक पर्ने नयाँ भौतिक पूर्वाधार निर्माण गर्नेजस्ता आजका धेरै महत्वपूर्ण चुनौतीका लागि सामूहिक समाधान आवश्यक छ ।
सुशासनका लागि त्यसको ‘भिजन’ जति महत्वपूर्ण हुन्छ त्यतिकै महत्वपूर्ण हुन्छ ‘सार्वजनिक नीतिको कार्यान्वयन’। यसैले यी चुनौतीलाई सम्बोधन गर्ने विवेकपूर्ण, नवप्रवर्तनकारी तथा मितव्ययी कार्यक्रम तयार गर्नु यसपछिको काम हुनेछ । महत्वपूर्ण मानवीय आवश्यकता पूर्ति गर्ने बलियो तथा नवप्रवर्तनकारी कार्यक्रम तयार गर्ने कुरामा दुर्भाग्यवश अमेरिकामा अभ्यास हुन छोडेको छ । यो नयाँ काम आरम्भ गर्ने समय हो र प्रगतिशील दृष्टिकोणका लागि ओबामाले ठूलो आवाजमा गरेको वकालतले अमेरिका सही दिशामा छ भन्ने देखाउँछ ।
(जेफ्री डी साक्स कोलम्बिया विश्वविद्यालयमा दिगो विकास, स्वास्थ्य नीति तथा व्यवस्थापनका प्राध्यापक हुन् र उनी अर्थ इन्ष्टिच्युटका निर्देशक हुन् । उनी सहस्राब्दी विकास लक्ष्यका विषयमा संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष सल्लाहकार पनि हुन् ।)
© प्रोजेक्ट सिण्डिकेट, सन् २०१३




