किसानको बगानमै पसेर ३ हजार केराका बोट फँडानी गर्नेहरु कारागार चलान
असार २३, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ला अदालतले रू.दुई लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । डल्लाकोटीसहितको एक समूहले गत वैशाख १७ गते त्यहाँका किसानको बगानमै पसेर केरा फँडानी गर्दा तीन हजार ९४ बोट केरा काटेको पाइएको थियो । उनीहरुले १२ किसानको रू.१५ लाखभन्दा बढीको केरा फाँडेर नष्ट गरेका थिए । सोही मुद्दामा यसअघि पक्राउ परेका अन्य पाँच जनालाई पनि अदालतले रू.दुई लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसक्दा कारागार चलान भएको आचार्यले बताउनुभयो । अझै उक्त मुद्दामा एक जना फरार रहेको र खोजी जारी रहेको प्रहरीले बताएको छ । रासस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed