रौतहट (अस) । रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति उच्च माध्यमिक विद्यालयका सुस्तश्रवण विद्यार्थीलाई आवासको समस्या भएको छ । विद्यालयको आवासीय भवन जीर्ण बन्दै जाँदा उनीहरू जोखीमपूर्ण रूपमा बस्न बाध्य भएका छन् ।
विद्यालयको भवनमा बसोवास गर्न र अन्य सेवासुविधा पाउन समेत कठिनाइ भएको विद्यार्थीको गुनासो छ । अध्ययनका लागि अन्य जिल्लाबाट आएका सुस्तश्रवण विद्यार्थीको व्यवस्थापन चुनौतीपूर्ण बनेको शिक्षिका सीता खतिवडाले गुनासो गरिन् । ‘बस्ने सुरक्षित भवन नहुँदा सास्ती भएको छ,’ उनले भनिन् । समस्या समाधानका लागि सम्बन्धित निकायले चासो नदिएको उनको भनाइ छ ।
सुस्तश्रवण बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक खतिवडाले औंल्याइन् । विद्यालयका दुईओटा भवनमा यस्ता विद्यार्थीलाई राखिए पनि दुवै जीर्ण हँुदै गएकाले जोखीम बढेको छ । वर्षामा पानी चुहिएर अध्ययनमा समेत बाधा पुगेको उनीहरूको गुनासो छ ।
विद्यालयमा कक्षा १ देखि १० सम्म ४० जना सुस्तश्रवण विद्यार्थी अध्ययन गर्दै आएको प्रधानाध्यापक शङ्कर भट्टराईले बताए । उनका अनुसार पछिल्लो मङ्सिरदेखि यस विद्यालयमा सुस्तश्रवण बालबालिकाका लागि जिल्लाले बजेट पठाएको छैन । जिल्लाको वसतपुर, गौर र चन्द्रनिगाहपुरमा सुस्तश्रवण विद्यालय सञ्चालन हुँदै आएको शिक्षा समन्वय एकाइ कार्यालय, गौरले बताएको छ । तीनओटै विद्यालयमा ६० जना सुस्तश्रवण र ३० जना सुस्त मस्तिष्क गरी ९० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी कार्यालयले दिएको छ ।