असार २९, नुवाकोट । त्रिशूली जलविद्युत केन्द्रमा मङ्गलवार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।
जलविद्युत गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पुर्याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत केन्द्रको उत्पादन बन्द छ ।
विद्युत् उत्पादन गर्न सकिने भए पनि मर्मतका लागि बन्द गर्नुपर्ने बाध्यताले मङ्गलवार अपराह्नको आगलागीलगत्तै त्रिशूली र बुधबारदेखि देवीघाट जलविद्युत् केन्द्र बन्द गरिएको त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
आगलागीबाट क्षति पुगेका टर्बाइनको मर्मतमा नेपाल विद्युत प्राधिकरणका १५ जनाभन्दा बढी प्राविधिक खटिएको भट्टले बताए ।
‘पूर्णक्षति भएका उपकरणको लगत लिएर सामग्री मगाएका छौँ ।’ उनले भने, ‘आगो निभाउन फायर एक्सटिनगुइसर ग्यास पर्याप्त नभएपछि दमकलमार्फत पानीसमेत प्रयोग भएकाले त्यसको कारण क्षति पुगेका उपकरण कति भन्ने यकिन हुन अझै बाँकी छ ।’
उनका अनुसार प्रारम्भिक लगतको आधारमा रू. एक करोडभन्दा बढी क्षति पुगेको छ । त्रिशूली जलविद्युत केन्द्र मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले त्यसको निकास पानीबाट सञ्चालनमा रहेको देवीघाट जलविद्युत केन्द्र पनि बन्द गरिएको हो ।
बन्द भएका दुई जलविद्युत केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको र सो अवरुद्ध हुँदा दैनिक रू. ५० लाखभन्दा बढीको विद्युत उत्पादन रोकिएको त्रिशूली जलविद्युत केन्द्रका वितरण शाखा प्रमुख सन्तोष कुमारले जानकारी दिए ।
उनको अनुसार क्षति पुगेका उपकरण मर्मत गर्न कम्तीमा एकसाता लाग्ने देखिएपछि यहाँका केन्द्रमार्फत वितरण भएको विद्युत्लाई बुधवार साँझदेखि राष्ट्रिय ग्रिडमार्फत जडान गरी विद्युत सञ्चालन गरिएको छ । रासस











