काठमाडौं (अस) । नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनअन्तर्गतको नेपालतर्फको (ढल्केवर) सबस्टेशन आइतवार परीक्षण सम्पन्न भएको छ । २२०/१३२ केभीको उक्त प्रसारण लाइनका दुवै ट्रान्सफर्मर परीक्षण गरिएको आयोजना प्रमुख राधेशरण महतोले जानकारी दिए । ‘परीक्षण चार्ज सम्पन्न भएको भए पनि नियमित विद्युत् प्रवाह गर्न अभैm करीब १० दिन लाग्छ,’ महतोले भने, ‘त्यसमध्ये ४–५ दिन त भारतले आफूतर्फको सबस्टेशनमा १ सय ३२ केभीबाट २ सय २० केभीमा अपग्रेड गर्नै लाग्छ ।’
हालसम्म १ सय ३२ केभी क्षमतामा सञ्चालनमा रहेको उक्त सबस्टेशन २ सय २० केभीमा स्तरोन्नति भएको छ । यससँगै अब यस प्रसारण लाइनबाट अधिकतम २ सय ८० मेगावाट (मेवा)सम्म विद्युत् प्रवाह गर्न सकिनेछ ।
करीब १ वर्षमा सम्पन्न हुनुपर्ने उक्त सबस्टेशन ठेकेदार विवादका कारण ४ वर्ष लगाएर सम्पन्न भएको छ । उक्त सबस्टेशनको निर्माणका लागि सन् २०१४ को जुनमा चाइनिज ठेकेदार सेण्ट्रल चाइना पावर ग्रीड इण्टरनेशनल कम्पनी (सीसीपीजी)सँग निर्माणको सम्झौता भएको थियो । विभिन्न बहाना बनाएर ठेकेदारले काममा ढिलाइ गर्दै गएपछि प्राधिकरणले ६ महीनाअघि सीसीपीजीसँग ठेक्का तोडेको थियो ।
त्यतिबेलासम्म सबस्टेशनको ९० प्रतिशत काम सम्पन्न भएको थियो । बाँकी १० प्रतिशत कामका लागि सम्झौता गरेको भारतीय कम्पनी टेल्मस इलेक्ट्रोनिकले निर्धारित समयभित्रै निर्माण सम्पन्न गरेको हो ।




