सरकारले दूरसञ्चार र इण्टरनेट सेवाको कर बढाएपछि टेलिफोन र इण्टरनेट सेवा शुल्कमा भोलि (साउन १ गते मङ्गलवार)देखि टेलिफोन र इण्टरनेट सेवाशुल्क बढ्ने भएको छ । बजेट वक्तव्यमार्फत कर बढाइएका कारण टेलिफोन शुल्कमा थप २ प्रतिशत र इण्टरनेट शुल्कमा थप १३ प्रतिशत कर वृद्धि भएको छ । यसअघि टेलिफोन सेवामा ११ प्रतिशत कर लाग्दै आएको थियो । सरकारको घोषणासँगै नेपाल टेलिकम, एनसेललगायत टेलिकम्युनिकेशन सेवाप्रदायक कम्पनीले पनि शुल्क बढाउने भएका छन् । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई शुल्क बढेको एकैचोटि महसूस हुन नदिन मनसुन अफर ल्याएको छ ।
सरकारले दूरसञ्चार सेवा प्रदायकलाई तिर्नुपर्ने सेवाशुल्क वृद्धि गरेपछि त्यसको मार उपभोक्तालाई पर्ने भएको छ । सरकारले भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणका लागि सम्पदा कोषमा स्रोत जुटाउन दूरसञ्चार सेवामा १ प्रतिशत कर बढाउने घोषणा गरेको थियो । फलस्वरूप टेलिफोन, इण्टरनेट र एसएमएस प्रयोग गर्दा नियमित लाग्दै आएको दस्तुरमा केही रकम थप हुने भएको हो ।
सरकारको घोषणा दूरसञ्चार सेवा उपयोगकर्ताले ११ प्रतिशत सेवाशुल्क तिर्नुपर्नेछ । यसअघि सेवाशुल्क १० प्रतिशत मात्र थियो । दूरसञ्चार उपभोक्ताले यसबाहेक १३ प्रतिशत मूल्य अभिवृद्धि कर (मूअक)समेत तिर्नुपर्छ ।
करवृद्धि भएपछि विभिन्न दूरसञ्चार सेवा प्रदायकले तोकेको शुल्क पनि फरक पर्नेछ । नेपाल टेलिकमका पोष्टपेड ग्राहकका लागि आन्तरिक नेटवर्कभित्र प्रतिमिनेट १ रुपैयाँ तोकिएकोमा १३ प्रतिशत मूअक र ११ प्रतिशत सेवाशुल्क जोडेर ग्राहकले प्रतिमिनेट १ रुपैयाँ २५ पैसा तिर्नुपर्नेछ । यसअघि पोष्टपेडमा प्रतिमिनेट १ रुपैयाँ २४ पैसा लाग्थ्यो । बाँकी रहेको १ पैसा राष्ट्रिय पुनर्निर्माण कोषअन्तर्गतको सम्पदा कोषमा सङ्कलन हुनेछ । त्यस्तै, प्रिपेड ग्राहकलाई आन्तरिक नेटवर्कभित्र प्रतिमिनेट १ रुपियाँ ५० पैसा तोकिएकोमा नियमिततर्फको २ प्रतिशत स्वामित्व कर, १३ प्रतिशत मूअक र ११ प्रतिशत सेवा शुल्कसहित अब ग्राहकले नेपाल टेलिकमको आन्तरिक नेटवर्कभित्र टेलिफोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ९१ पैसा तिर्नुपर्नेछ । यसअघि प्रिपेड प्रयोगकर्ताले प्रतिमिनेट १ रुपैयाँ ९० पैसा खर्च गर्थे । प्रिपेड प्रयोगकर्ताले मात्र स्वामित्व कर तिर्नुपर्ने प्रावधान छ ।
यसैगरी प्रतिएमबी १ रुपैयाँ तोकिएको मोबाइल डाटा र एसएमएसमा पनि सोहीअनुसार कर जोडिनेछ । एनसेल प्रिपेड प्रयोगकर्ताका लागि सबै कर र सेवाशुल्क जोडेर अब आन्तरिक नेटवर्कभित्र प्रतिमिनेट २ रुपैयाँ ५५ पैसा पर्छ । यसअघि एनसेल प्रयोगकर्ताले टेलिफोनको शुल्क प्रतिमिनेट २ रुपियाँ ५२ पैसा तिर्नुपर्थ्यो ।
एनसेलले उपलब्ध गराउँदै आएको अन्य सबै दूरसञ्चार सेवामा पनि १ प्रतिशत दस्तुर थपिनेछ । दूरसञ्चार सेवा प्रदायकका साथै भायोनेट, क्लासिक टेक, सुबिसुलगायत इण्टरनेट सेवा प्रदायकले पनि सेवा शुल्क बढाउने भएका छन् ।




