सूर्यप्रसाद अधिकारी
चितवन । चितवनमा यस वर्ष हालसम्म ५९ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । नियमित वर्षा नहुँदा र सिँचाइको अभावले रोपाइँ कम भएको जिल्ला कृषि विकास कार्यालय, चितवनले बताएको छ । कार्यालयका अनुसार असार अन्तिमसम्म भरतपुर महानरपालिकामा ४० प्रतिशत, खैरहनी नगरपालिकामा ८५ प्रतिशत, कालिका नगरपालिकामा ६० प्रतिशत रोपाइँ भएको छ । यस्तै रत्ननगरमा ८२, माडीमा ६०, राप्तीमा ७८ प्रतिशत र इच्छाकामना गाउंँपालिकामा ४० प्रतिशत मात्रै रोपाइँ भएको छ ।
भरतपुरमा आधा खेत बाँझै
जिल्लाका ७ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी क्षेत्रफल ओगटेको भरतपुर महानगरको आधाभन्दा बढी खेत बाँझो रहेको छ । कृषि कार्यालयका अनुसार भरतपुरको १३ हजार १ सय हेक्टर क्षेत्रफलमध्ये ६ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यस वर्ष नहरबाट हुने सिँचाइ र नियमित वर्षा नभएकोले अधिकांश जग्गा बाँझो रहेको हो । ‘अघिल्लो वर्षभन्दा अहिले खण्डवृष्टि भएको छ । महानगरमा पर्याप्त बोरिङ सुविधा पनि छैन,’ कार्यालयका सूचना अधिकारी एवम् कृषि बजारविज्ञ रामराजा पौडेलले भने ।
उनका अनुसार जिल्लामा सञ्चालित नारायणी लिफ्ट सिँचाइ र खगेरी सिँचाइबाट पानीको आपूर्ति नभएकोले पनि धान रोपाइँ ढिलाइ भएको हो । महानगरका २९ ओटा वडामध्ये अधिकांश वडाका खेतहरू बाँझै छन् । भरतपुरका १५, १३, ६, २२, १७, १८, १९ र २० नम्बर वडाका जग्गामा पानीको अभावमा रोपाइँ नभएको कार्यालयका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए । मनसुन सक्रिय नहुँदा र महानगरका पश्चिम क्षेत्रका खेतमा रोपाइँ नै ढिला हुने गरेको उनले बताए । नियमित सिँचाइ र वर्षा भए साउनको दोस्रो सातासम्म सबै क्षेत्रमा धान रोपाइँ सकिने उनको अनुमान छ ।




