Latest posts by सम्झना शर्मा (see all)
भैरहवा । रूपन्देहीमा आर्थिक वर्ष २०७४/७५ मा ९० दशमलव ४३ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रूपन्देहीले सोमवार भैरहवामा पत्रकार सम्मेलन गरी सो अवधिको बजेट खर्चबारे जानकारी गराएको हो ।
रूपन्देहीका लागि सो आवमा २१ अर्ब ८२ करोड १० लाख ७३ हजारको अख्तियारी आएकोमा असार मसान्तसम्ममा १९ अर्ब ७३ करोड २९ लाख ४१ हजार रुपैयाँ खर्च भएको कार्यालयका कोष तथा लेखा नियन्त्रक मतिप्रसाद भुषालले बताए । असारमा मात्र ४२ प्रतिशत बजेट खर्च भएको कार्यालयले उल्लेख गरेको छ ।
चालू खर्चतर्फ १३ अर्ब ७९ करोड १४ लाख रुपैयाँ ९३ दशमलव ७० प्रतिशत अर्थात् रू. १२ अर्ब ९२ करोड २८ लाख खर्च भएको छ । पूँजीगततर्फ रू. ८ अर्ब २ करोड ९६ लाखमध्ये ८४ दशमलव ८१ प्रतिशत अर्थात् रू. ६ अर्ब ८१ करोड १ लाख खर्च भएको छ । विगतका वर्षमा भन्दा हालको खर्च सन्तोषजनक रहेको भुषालले बताए । सबैभन्दा बढी रकम खर्च गर्नेमा व्यापारिक मार्ग विस्तार आयोजना ९९ दशमलव ६८ प्रतिशत, जनताको तटबन्ध ९९ दशमलव १९ प्रतिशत छन् भने कम खर्च गर्नेमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम र भैरहवा–लुम्बिनी–तौलिहवा सडकलगायत छन् ।




