पर्वत (अस) । दोबिल्ला–फलेवास सडकखण्डमा पर्ने जोखीमपूर्ण पुल १ दशकपछि मर्मत गरिएको छ । मोदीखोलामा १० वर्षअघि निर्मित यो पुल समयमै मर्मत नहुँदा जोखीमपूर्ण रूपमा आवतजावत गर्नुपर्ने अवस्था थियो । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ३० लाख खर्चमा पुलको मर्मत सम्पन्न भएको हो ।
जिल्ला प्राविधिक कार्यालयका प्रमुख जगदीश शर्माका अनुसार पुलमा प्रयोग भएका दुवैतर्फका क्यारिङ वेका क्रशबिम, फूटपाथ डेकलगायत उपकरण फेरबदल गरिएको छ । सदरमुकाम कुश्माबाट दक्षिणी पर्वतका फलेवास नगरपालिकाका साथै महाशिला, बिहादी र पैयुँ गाउँपालिका पुग्ने एकमात्र सडक हो दोबिल्ला–फलेवास । यो सडकखण्डमा पर्ने मोदीखोला पुल भएर दैनिक करीब ३ सय साना–ठूला सवारीसाधन चल्छन् । विगतमा साविकको जिविसले पुल र सडक कर उठाए पनि पुलको मर्मत गरेको थिएन । सम्बन्धित निकायको चासो नहुँदा पुल जीर्ण बन्दै गएको कुश्मा–११ का अध्यक्ष शिवशर्मा पौडेलले बताए ।
१० टन बढी भार थेग्ने उक्त पुलमा क्षमताभन्दा बढी भारका सवारीसाधन र सडक निर्माणमा प्रयोग हुने हेभी इक्वीपमेण्ट गुड्छन् । लामो समय मर्मत नहुँदा पुलका सबैजसो भाग जीर्ण बनेको थियो ।




