काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान)को आयोजनामा १२औं बृहत् शैक्षिक मेला साउन ३ गते (बिहीवार)देखि शुरू हुने भएको छ । मेलाको उद्घाटनमा न्यूजिल्याण्ड, अष्ट्रेलिया, भारत, रुस, बेलायत, जापानलगायत देशका राजदूत तथा दूतावासका प्रतिनिधिको उपस्थिति रहने मेलाबारे जानकारी दिन मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२ सय २६ भन्दाबढी स्टल तथा १७ ओटा पेभिलियनका साथ सञ्चालन हुने मेलामा विश्वका उत्कृष्ट गन्तव्य मुलुकको शिक्षा प्रणाली र अवसरबारे जानकारी दिइने आयोजक ईक्यानले जानकारी दिएको छ ।
मेलामा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा तिनका अभिभावकलाई विभिन्न देशका शिक्षा नीति, रहन–सहन, हावापानी, वातावरण, कलेज एवम् देशअनुसारका शुल्कबारे जानकारी दिइनेछ ।
आपूmहरूले नेपालको जनशक्ति विकासमा भूमिका खेलिरहेको ईक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए । ‘हामीले पढ्न विदेश जान चाहने विद्यार्थीलाई पढिसकेर देशमै फर्किएर काम गर्न सकिने विषय पढ्न प्रोत्साहित गरिरहेका छौं,’ उनले भने । विगतको तुलनामा अहिले विद्यार्थीको रोजाइको देश र विषय परिवर्तन भएको ईक्यानले जानकारी दिएको छ । पहिले नर्सिङ अध्ययनका लागि भारत जाने विद्यार्थी अहिले इञ्जिनीयरिङ तथा व्यवस्थापन पढ्न जाने गरेका छन् । त्यसैगरी, ५ वर्षअघि विद्यार्थीको पहिलो गन्तव्य बेलायत हुने गरेकोमा हाल परिवर्तन भएर अष्ट्रेलिया तथा जापानका लागि बढी आवेदन पर्न थालेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको प्रायोजक ब्रिटिश काउन्सिल रहेको छ । मेलाको अवधिभर नीलगिरि डेण्टल प्रालिबाट निःशुल्क डेण्टल क्याम्प, मनमोहन मेमोरियल अस्पतालबाट निःशुल्क प्राथमिक उपचार तथा रेडक्रस सोसाइटीबाट रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । मेला साउन ६ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।











