साउन ३, काठमाडौं (अस) । शिवम् सिमेण्टको अईपीओ साउन १३ गतेदेखि आउने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र मकवानपुर जिल्लाको वासिन्दाको लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. ३ सय अङ्कित दरको ८ लाख ८० हजार कित्ता आईपीओ जारी गर्नेछ । उद्योग प्रभावित क्षेत्रका वासिन्दाले आईपीओ भदौ ११ गतेसम्म भर्न पाउनेछन् । न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सि आस्बा सेवामा सहभागि बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै, उद्योग प्रभावित क्षेत्रका वासिन्दाले शेयर आवेदन गर्दा सि आस्बा अनिवार्य नभएकोले कम्पनीले ताकेको बैङ्कमा गएर आवेदन फारम प्राप्त गरी बुझाउन सकिनेछ । ईक्रा नेपालले यस आईपीओलाई ग्रेड ३+ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष तुलनात्मक रुपमा सकरात्मक रहेको देखाउँछ ।




