Latest posts by सम्झना शर्मा (see all)
भैरहवा । नेपाल प्रवेश गर्ने देशकै सबैभन्दा ठूलो नाका बेलहिया हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा वृद्धि भएको छ । यस वर्षको ६ महीना अर्थात् जुनसम्म यो नाका हुँदै ७४ हजार ४ सय पर्यटक नेपाल भित्रिएका छन् । गतवर्ष सोही अवधिमा नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका विदेशी पर्यटकको सङ्ख्या ७३ हजार ७ सय ६४ थियो । गतवर्षको तुलनामा यस वर्ष ६ सय ३६ ले पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।
अध्यागमन कार्यालय बेलहियाको तथ्याङ्कअनुसार सबैभन्दा बढी मार्च महीनामा २९ हजार ९ सय ६० पर्यटक र सबैभन्दा कम जुनमा १ हजार ३ सय ८८ पर्यटक नेपाल भित्रिएका छन् । यस वर्षको ६ महीनामा बेलहिया–सुनौली नाका हुँदै चीनका २ हजार ३ सय २४, साउथ कोरियाका ४ हजार १ सय ५९, म्यानमारका १७ हजार ४ सय ६०, श्रीलङ्काका १७ हजार १ सय ९७, थाइल्याण्डका १९ हजार ११ र भियतनामका २ हजार १ सय ९९ जना पर्यटक भित्रिएका छन् ।
यस नाकाबाट विशेषगरी लुम्बिनी भ्रमणका लागि बौद्ध धर्मावलम्बी आउने गर्छन् । ६ महीनाको अवधिमा अध्यागमन कार्यालय बेलहियाले पर्यटकको भिसा शुल्कबापतको ६ करोड २० लाख ९३ हजार ७ सय ४६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विदेशी पर्यटकका लागि १५ दिनको भिसाका लागि २५ डलर, ३० दिनलाई ४० डलर र ९० दिनलाई १ सय डलर शुल्क लिने गरिएको छ । त्यसैगरी, पर्यटकले नेपाल भ्रमणपश्चात् स्वदेश फिर्ता हुँदा प्रतिव्यक्ति ३० डलर तथा म्याद नाघे प्रतिदिन ३ डलर थप तिर्नुपर्ने व्यवस्था रहेको छ ।
यसबाहेक सार्क सदस्य मुलुकसहित चीन, मकाउ, हङकङका नागरिक र १० वर्षमुनिका बच्चालाई नेपालले निःशुल्क प्रवेश अनुमति दिँदै आइरहेको कार्यालयका अध्यागमन कार्यालय बेलहियाका नायब सुब्बा पुकार श्रेष्ठले जानकारी दिए ।



