Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । कलेज अफ म्यानेजमेण्ट (केसीएम)को नेपाल म्यानेजमेण्ट सिम्पोजियम २०१८ शुक्रवार सम्पन्न भएको छ । बिहीवारदेखि काठमाडौंमा शुरू भएको सिम्पोजियम व्यवस्थापन सम्बद्ध विभिन्न चार सेसनको प्रस्तुति गरी सकिएको हो । नेपाली विद्यार्थी र वर्तमान उद्यमी तथा व्यवस्थापकलाई एउटै मञ्चमा भेला गर्ने उद्देश्यले सिम्पोजियम गरिएको आयोजक केसीएमले बताएको छ । यस किसिमको कार्यक्रम भविष्यमा पनि गर्दै जाने उसको लक्ष्य छ । सिम्पोजियमको दोस्रो दिन ‘आन्त्रप्रेनरशीप’ र ‘लिडरशीप अर्गनाइजेशन’जस्ता शीर्षकमा सेसन सञ्चालन भएका थिए ।
सेसनमा सहभागी टूटल पोष्टका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले आविष्कारले नीति परिवर्तनसम्म गराउने बताए । यसका लागि परम्परागत शिक्षाभन्दा पनि आफैंले अनुभवबाट हासिल गरेका दक्षता बढी प्रभावकारी हुने उनको धारणा छ । बरू नवीन आविष्कारका लागि सामाजिक सञ्जाल प्रभावकारी सिकाइ स्रोत हुने उनले दावी गरे ।
खालीसिसी म्यानेजमेण्टकी प्रमुख कार्यकारी अधिकृत आयुसी केसीले वर्तमान परिवेशसँग अद्यावधिक हुँदै कुनै पनि विषयमा समाधान ल्याउन डिजिटल सहकार्य र आफ्नो सक्षमताको पहिचान महत्त्वपूर्ण रहेको बताइन् ।
उद्यमी अमित अग्रवालले आफ्नो समयसीमाप्रतिको स्पष्टता, समूहको क्षमता र बिजनेश मोडलजस्ता पक्ष व्यवसाय सफल बनाउने औजार भएको बताए । समस्याको पहिचान गरेर प्रविधिको प्रयोग गरे मात्रै सफल हुन सकिने उनको धारणा छ ।
त्यसैगरी, बिजनेश अक्सिजन प्रालिका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले पनि आन्त्रप्रेनरशीप सेसनमा आफ्नो प्रस्तुति दिएका थिए । उनले प्रविधिको प्रयोगसँगै पूँजी, भ्याल्यू एडिशन, परिस्थिति परिवर्तनजस्ता कुरा लगानीकर्ताले जान्नै पर्ने पक्ष रहेको बताए ।
अर्का प्रस्तोता टाटा सन्सका पूर्व कार्यकारी निर्देशक आर. गोपालकृष्णन्ले संस्था व्यवस्थापनका निश्चित शीर्षक तथा शीप विषयमा चर्चा परिचर्चा गरेका थिए ।
सिम्पोजियमको पहिलो दिन सम्बन्धित क्षेत्रका ८ जना विज्ञले ‘फाइनान्सियल इकोनोमिक्स’ र ‘मार्केटिङ तथा ब्राण्डिङ’ शीर्षकका दुई अलग–अलग सेसनमा आ–आफ्ना व्यावसायिक विज्ञता र अनुभव बताएका थिए ।
समग्रमा कार्यक्रम निकै उपलब्धिमूलक रहेको आयोजक केसीएमले मूल्याङ्कन गरेको छ । सन् २०११ देखि वार्षिक रूपमा सिम्पोजियम आयोजना गर्दै आएको केसीएमले आगामी वर्षमा अझ बढी समय सापेक्षित ढङ्गबाट कार्यक्रम आयोजना गर्ने बताएको छ ।



