महेन्द्रनगर (अस) । जिल्ला वन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७४÷७५ मा ११ हजार ८३ हजार बिरुवा उत्पादन गरेको छ । जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले गत आवमा स्थानीय तह र वन कार्यालयले छुट्टाछुट्टै बिरुवा उत्पादन गरी स्थानीयलाई वितरण गरेको बताए ।
उनका अनुसार बिरुवा उत्पादनका लागि वन कार्यालय र स्थानीय तहको गरी ९४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । वन कार्यालयले बिरुवा उत्पादनको लागि ३६ लाख २७ हजार र निजी नर्सरी बनाउन ७ जना किसानलाई १६ लाख अनुदान दिइएको छ भने बाँकी रकम स्थानीय तहले खर्च गरेको प्रमुख शर्माले बताए । स्थानीय तहले पनि आफ्नै लगानीमा पाँच लाख ५० हजार बिरुवा उत्पादन गरेका छन् । निजी वन स्थापना गरी वनमाथि स्थानीय बासिन्दाको निर्भरता हटाउन र आर्थिक अवस्थामा सुधार ल्याउन स्थानीयलाई बिरुवा वितरण गरिएको शर्माको भनाइ छ ।




