मदन गिरी
महेन्द्रनगर । कञ्चनपुरमा छाडा पशुचौपायाको प्रमुख समस्या रहेका ६ ओटा स्थानीय तहले गत आर्थिक वर्षमा डेढ करोडभन्दा बढी बजेट खर्च गर्दा पनि समस्या समाधान हुन सकेको छैन । बजेटको प्रभावकारी प्रयोग नहुँदा छाडा चौपाया व्यवस्थापन हुन नसकेको हो ।
छाडा पशु चौपायाको व्यवस्थापनका लागि सबैभन्दा बढी भीमदत्त नगरपालिकाले रू. ७० लाख खर्च गरेको छ । महाकाली नगरपालिकाले १० लाख विनियोजन गरे पनि साढे ३ लाख रुपैयाँ खर्च गरेको छ । नगर प्रमुख वीरबहादुर सुनारका अनुसार नगरका विभिन्न वडामा अस्थायी गौशाला निर्माण गरिएको छ ।
छाडा चौपाया व्यवस्थापनका लागि ४० लाख बजेट विनियोजन गरेको शुक्लाफाँटा नगरपालिकाले १७ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । वेदकोटले ३६ लाख र कृष्णपुर नगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेका थिए । छाडा चौपाया व्यवस्थापन नहुँदा स्थानीय किसानले सास्ती खेप्नु परेको छ भने सडक दुर्घटना पनि बढ्दै गएका छन् ।
भीमदत्त–६, ऐठपुरका स्थानीय मदन चन्दले विगतमा छाडा पशुको समस्या जस्तो थियो, स्थानीय सरकार बनेपछि पनि उस्तै रहेको बताए । धानखेती जोगाउन रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
महाकाली नगरपालिकामा छाडा चौपायाले आतङ्क नै मच्चाएपछि गत असारमा स्थानीयले नगरपालिकामा प्रदर्शनसमेत गरेका थिए । बेलौरी, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले आफ्नो क्षेत्रमा छाडा पशुको समस्या नभएकाले बजेट विनियोजन नगरेको बताएका छन् ।











