पाल्पामा ८४ करोडभन्दा बढी बजेट फ्रिज

पाल्पा (अस) । आर्थिक वर्ष २०७४/७५ मा पाल्पाबाट ८४ करोड १४ लाख ५६ हजार बजेट फ्रिज भएको छ । जिल्लाका विभिन्न कार्यालयले विनियोजित बजेट खर्च गर्न नसकेकाले फ्रिज भएको हो । जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा चालू तथा पूँजीगततर्फ गरी ८ अर्ब ४६ करोड ९३ लाख ८३ हजार विनियोजन भएकोमा ७ अर्ब ६७ करोड ८९ लाख ४० हजार ८ सय ९६ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, पाल्पाकी निमित्त कोष नियन्त्रक सावित्रा सुवेदीले जानकारी दिइन् । जिल्लामा चालू तथा पूँजीगत खर्चतर्फ प्राप्त बजेटको ९० दशमलव ६७ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७३/७४ मा ६ अर्ब ४८ करोड २३ लाख ९ हजार बजेट खर्च भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा चालूतर्फ ५ अर्ब ६१ करोड १३ लाख ७८ हजार विनियोजन भएकोमा ५ अर्ब २५ करोड ७३ लाख ७ हजार खर्च भएको छ । त्यसैगरी पूँजीगततर्फ २ अर्ब ८५ करोड ८० लाख ५ हजारमध्ये २ अर्ब ३७ करोड ६ लाख २० हजार खर्च भएको छ । जिल्लामा सबैभन्दा कम बजेट जिल्ला प्राविधिक कार्यालयले गरेको छ । उसले २३ करोड १४ लाख ६० हजारमध्ये १४ करोड ९ लाख ६३ हजार ९ सय ८४ रुपैयाँ खर्च गरेको हो । डिभिजन सडक कार्यालले ८३ दशमलव १२ प्रतिशत वित्तीय प्रगति गरेको छ । कार्यालयलाई प्राप्त कुल बजेट ६३ करोड ६ लाख ६० हजारमध्ये ५२ करोड ४० लाख १० हजार खर्च भएको हो । भवन कार्यालयलाई प्राप्त बजेटमध्ये ३४ करोड ४४ लाख ३६ हजार खर्च भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २८ करोड ४ लाख ९४ हजारमध्ये २६ करोड ८२ लाख ७८ हजार खर्च गरेको छ । उत्तर–दक्षिण कालीगण्डकी कारिडोरलाई प्राप्त ६५ करोड ७५ लाखमध्ये ४९ करोड ११ लाख ५८ हजार खर्च भएको छ ।