उदयपुर सिमेण्ट उद्योगको विक्री २ अर्बभन्दा बढी
साउन ९, उदयपुर । नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योगले एक वर्षमा झण्डै रू. दुई अर्बभन्दा बढी मूल्यको सिमेण्ट विक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४ को साउन महीनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रू. दुई अर्ब २२ करोड २७ लाख ९६ हजार मूल्यको सिमेण्ट विक्री गरेको हो । विद्युत भार कटौतीको मार ब्योहोर्दै आउन परेको सिमेण्ट उद्योगले आफ्नै प्रयास र कठिन परिश्रमबाट यस वर्ष एक लाख २९ हजार ५०० मेट्रिक टन अर्थात् २४ लाख ६ हजार ९०० बोरा सिमेण्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए । उत्पादित सिमेण्टको मूल्य रू. दुई अर्ब २३ करोड बराबरको रहेको पनि महाप्रबन्धक पौडेलले जानकारी दिए । उदयपुर जिल्लाको जलजलेमा अवस्थित उद्योग विसं २०४४ बाट सञ्चालनमा आएको उद्योगले विद्युत भार कटौतीको मारको खेप्नुपरेको कारण २०५८ सालमा पहिलो पटक ठूलो परिमाणमा सिमेण्ट उत्पादन गरेर विक्री गर्न सफल भएको थियो । त्यसपछिका समयमा यस वर्षमात्र सिमेण्ट उद्योगले सबैभन्दा बढी सिमेण्ट उत्पादन गरी बिक्री गरेको र यो नयाँ रेकर्ड स्थापना भएको उद्योगका महाप्रबन्धक पौडेलले बताए । पाँच महिना यतादेखि विद्युत् भार कटौतीको समस्या हल हुन थालेपछि अहिले सिमेण्ट उद्योगले दैनिक ७५० मेट्रिक टनभन्दा माथि सिमेण्ट उत्पादन गर्दै आएको छ । विगतमा उद्योगले मुस्किलले ५५० मेट्रिक टन मात्र सिमेण्ट उत्पादन गर्ने गरेको थियो । देशकै सबैभन्दा ठूलो उदयपुर सिमेण्ट उद्योगको दैनिक ८०० मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने क्षमता रहेको छ । रासस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed