Latest posts by अभियान संवाददाता (see all)
विराटनगर । बैङ्किङ कसुर मुद्दामा फरार भन्सार एजेण्ट ललित बोहरा र सुरेश बोहरा सुटुक्क अदालतमा हाजीर भएर धरौटीमा छुटेका छन् । उनीहरू राष्ट्रिय वाणिज्य बैङ्क सुक्खा बन्दरगाह शाखा कार्यालय, रानी विराटनगरको रू. १० करोड घोटाला प्रकरणमा ६ महीनायता फरार थिए ।
बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले बुधवार सुरेशलाई रू. ८० लाख र ललितलाई रू. २५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । विराटनगर भन्सारका क्लियरिङ एजेण्ट सुरेश र उनका भाइ ललितको नाममा फागुन पहिलो साता प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । बैङ्किङ कसूर मुद्दामा म्याद जारी भएपछि हाजीर भएका बोहरा दाजुभाइ धरौटीमा छुटेको उनका कानून सहयोगी अधिवक्ता भरतबहादुर थापाले जानकारी दिए । उनका अनुसार बैङ्कले बिगो दाबी नगरेपछि धरौटीमा छुटेका हुन् ।
बैङ्कको काउण्टरमा बोहरा दाजुभाइले राजस्वबापत बुझाएका एकाउण्ट पेयी चेकहरू क्लियरिङ नभएपछि घोटाला भएको खुलेको थियो । मोरङ र सुनसरीका ठूला उद्योगका कच्चापदार्थ एवम् ठूला व्यावसायिक घरानाका व्यापारिक मालसामानको भन्सार क्लियरिङ गर्दै आएका बोहरा दाजुभाइले पटकपटक र विभिन्न एकाउन्ट पेयी चेकमार्फत मालवस्तु छुटाएका थिए ।
तर, खातामा रकम नभएका कारण ती चेकहरू क्लियरिङ हुननसक्दा १० करोड नोक्सान भएको भन्दै बैङ्कले प्रहरीमा उजुरी दिएको थियो । सो क्रममा बैङ्कका कर्मचारीद्वय विष्णु निरौला र द्रोण राउत पनि पक्राउ परेका थिए । उनीहरूलाई १ करोड रुपैयाँ धरौटी गरिएकोमा सर्वाेच्चले ७५ लाख रुपैयाँ कायम गरिदिएपछि चलअचल सम्पत्ति धितो राखेर धरौटी जम्मा गरी तारेखमा छुटेका थिए ।




