साउन १०, काठमाडौं (अस) । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा रू. ७८ करोड ३७ लाख ९१ हजार निक्षेप सङ्कलन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ५६ प्रतिशत बढी निक्षेप सङ्कलन गरेको हो । कम्पनीको चुक्तापूँजी रू. २८ करोड ६० लाख रहेको छ ।
अघिल्लो आर्थिक वर्षसम्म कम्पनीको चुक्तापूँजी रू. २२ करोड रहेको थियो । यस वर्ष लगानीकर्ताहरुलाई ३० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । चौथो त्रैमासमा कम्पनीले रू. ९ करोड ४७ लाख ३४ हजार नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा २ प्रतिशतले मात्र बढेको छ । यस त्रैमासमा कम्पनीको जगेडा कोष रकममा भने साढे ६ प्रतिशतले कमी आएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रू. १६ करोड ९७ लाख १२ हजार जगेडा कोष रहेकोमा गत वर्षको चौथो त्रैमासमा रू. १५ करोड ८५ लाख ७५ हजारमा सीमित भएको छ । रू. २० लाख लगानी गरेको कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ३ अर्ब ३८ करोड ४९ लाख ५८ हजार कर्जा प्रवाह गरेको छ । लगानी रकम वृद्धि नगरेको यस कम्पनीले कर्जा प्रवाह भने ४० प्रतिशत बढेकोे छ । कम्पनीले गत वर्षको चौथो त्रैमासमा रू. ५० करोड २ लाख २ हजार ब्याज आम्दानी गर्दा रू. २६ करोड १४ लाख ६२ हजार ब्याजमा खर्चिएको छ ।
अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी ४५ प्रतिशत र ब्याज खर्च ९२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष रू. ३६ लाख ५८ हजार खराब कर्जा सङ्कलन गरेको कम्पनीले गत वर्ष भने रू. ३ लाख ४० हजार मात्र सङ्कलन गरेको छ । निष्क्रिय कर्जा १ दशमलव ३३ प्रतिशत रहेको कम्पनीले सम्भावित जोखिम शीर्षकमा रू. ४१ लाख ६२ हजार रकम छुट्याएको छ । चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव १२ रहेको छ ।





