पुष्पलाल पार्कलाई पर्यटकीय स्थलका रूपमा विकास गरिँदै

काठमाडौं । कीर्तिपुर नगरपालिकाले चम्पादेवीस्थित पुष्पलाल पार्क तथा त्यसवरपरका क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रको प्राकृतिक सौन्दर्य, पैदल मार्गलगायत पर्यटनको पर्याप्त सम्भावनाका कारण त्यहाँ पर्यटनका लागि पूर्वाधार विकास गर्न लागिएको हो । पार्कलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा परिचित गराउने लक्ष्य लिइएको छ भने चालू आवमा कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजनासमेत सञ्चालन गरिनेछ । उक्त योजनामा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । पर्यटन प्रवद्र्धनसँग सम्बन्धित उद्योग, होटल तथा अन्य व्यवसायको स्थापना र सञ्चालनमा कर तथा अन्य शुल्कमा छूटको व्यवस्था गरिनेछ । स्थानीय पर्यटनको विकास तथा पुनर्निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञ र समाजका प्रतिष्ठित व्यक्तिको समेत सहभागितामा कीर्तिपुर पर्यटन विकास समिति गठन गरिएको छ । नगरको पर्यटकीय क्षेत्र, कृषि, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार, प्राकृतिक स्रोतसाधनको नियमन र व्यवस्थापन, सार्वजनिक जग्गाको अवस्था, युवा तथा खेलकुदको परिस्थितिलगायत विषयलाई व्यवस्थित बनाउन अध्ययन भइरहेको नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले जानकारी दिइन् । रासस