चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अन्तरराष्ट्रिय आगमन कल बाइपास गर्ने ३ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पक्राउ परेकालाई दूर सञ्चार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य शुरू भएको छ ।
उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगारपालिका–११ का ३१ वर्षीय विजय गुरुङ, सोही स्थानका ३२ वर्षीय मीनप्रसाद रिजाल र भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सुनिल अधिकारी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गुरुङ र अधिकारीलाई भरतपुर महानगरपालिका–१० रिजालचोकबाट नियन्त्रणमा लिइएको हो । उनीहरूले उक्त ठाउँबाट कलबाइपास गर्दै आएको प्रहरीले बताएको छ । यस्तै, रिजाललाई बुटवलबाट पक्राउ गरिएको हो । अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रासस











